बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आम्दानीको स्रोत बन्दै जंगली च्याउ, वार्षिक दुई लाखसम्म कमाउँछन् स्थानीय

आइतबार, साउन १४ २०८०
आम्दानीको स्रोत बन्दै जंगली च्याउ, वार्षिक दुई लाखसम्म कमाउँछन् स्थानीय

गलेश्वर- पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जंगली च्याउ। जंगलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन्।

च्याउबाहेक जंगली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल ग्रामीण क्षेत्रमा रहेका होटल र घरबासका मुख्य परिकार हुन्। पश्चिम म्याग्दीको दरबाङ बजार कटेपछि रुम, दिच्याम, मुना, मुदी, लुलाङ, गुर्जा, देवीस्थान, बिम जुनसुकै ठाउँका होटल तथा घरबासमा प्रांगारिक परिकारले नै  पर्यटकको स्वागत  गरिन्छ।

पदयात्रामार्फत धवलागिरि हिमाल आरोहणका लागि जाने विदेशी पर्यटक होउन् वा गुर्जा, मुदी र पश्चिमी क्षेत्रका अन्य पर्यटकीय क्षेत्र पुग्नेहरूको स्थानीय परिकारकारुपमा पहिलो रोजाइ रातो च्याउ पर्ने गरेको मुनाकी कमला तिलिजाले बताइन्।

धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको अधिकांश जंगलमा रातो च्याउ पाइन्छ। जंगलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो हुन्छ। प्रोटिन र भिटामिनका लागि राम्रो मानिने जंगली रातो च्याउ म्याग्दीका ग्रामीण बस्तीमा पुग्ने जो कोहीले रुचाउने परिकार हो।

घरबासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरबासका सञ्चालक रेजिना पुनले बताइन्। 'घरबासमा आउने जो कोहीले खानका लागि र कोसेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्', उनले भनिन्, 'पाहुनाले आफ्ना परिवारका सदस्य रहेका युरोप तथा अमेरिकालगायत मुलुकमा समेत कोसेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन्।'

रातो च्याउ आलोमा आठ सय र सुकाएको चार हजार रूपैयाँमा बिक्री हुने गरेको दरबाङस्थित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए।

जंगली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीवासीले जंगली च्याउ सुकाएर राख्ने गरेका छन्। सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्‍याउनै नसकिएको उनको भनाइ थियो। स्थानीयवासीले जंगलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन्।

हालसम्म रातो च्याउ व्यावसायिकरूपले बिक्रीवितरण नभएको रुम निवासी टेकबहादुर घर्तीले बताए। अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्नाका साथै मूल्य बढ्दै गएको उनको भनाइ थियो ।

उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ। जंगलमा पाइने अधिकांश च्याउ विषालु हुने भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन्। रुमको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ। रातो च्याउ रुमलगायत देवीस्थान, बिम, दिच्याम, गुर्जा, ओखरबोटलगायत जंगलमा पाइन्छ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोसेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि प्रांगारिक च्याउ उत्पादनको व्यापार गर्दै आएका सुमन पौडेलले बताए। उनले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोसेलीका रूपमा पठाउने गरेको जानकारी दिए।

देवीस्थानकी रुपमाया घर्ती, रुमका बुद्धबहादुर विक, देवीस्थानकी माया सिउथानीलगायत यस क्षेत्रका २० भन्दाबढी व्यक्तिले जंगली रातो च्याउ संकलन गरी बिक्री गरेर वार्षिक ५० हजार रूपैयाँदेखि दुई लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। रुमका बुद्धबहादुर विकले यस वर्षमात्रै ४७ हजार रूपैयाँको रातो च्याउ बिक्री गरेको जानकारी दिए।

व्यावसायिक उत्पादन गर्नसके रातो च्याउको भविष्य रहेको उनको भनाइ थियो। सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको दरबाङस्थित आत्मनिर्भर साना किसान सहकारी संस्थाका अध्यक्ष शन्तनाथ सुवेदीले बताए।

'अब जंगललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन गरियो त्यसरी नै रातो च्याउको पनि बीउ विकास गर्न सकिन्छ', उनले भने।

यहाँको रातो च्याउ बिदेशमा समेत पठाउन थालिएकाले आम्दानीको राम्रो स्रोत पनि बन्दै गएको छ। रासस


प्रकाशित : आइतबार, साउन १४ २०८००७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend