शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

मालिकामा सामूहिक आलु खेती

मंगलबार, साउन ९ २०८०
मालिकामा सामूहिक आलु खेती
फाइल तस्बिर

आलुलगायत तरकारीको बीउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि किसानहरुले समेत बाँझो जमिनको सदुपयोग गरेका छन्।

गलेश्वर- पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले वर्षौंदेखि बाँझो रहेको जमिनको सदुपयोग गरी व्यावसायिक तरकारी खेती गरेको छ। 

सहकारीमार्फत डेढ सय रोपनी जग्गा भाडामा लिएर गरेको आलु खेतीबाट यसपटक करिब पाँच टन आलु उत्पादन भइ बजारमा गएको छ भने बाँझो जमिन अहिले हराभरा भएको छ।

सहकारीले खेर गएको जमिनसँगै भाडामा लिएर माटो परीक्षण गरेर माटो सुहाउँदो उत्पादनमा जोड दिएको सहकारीका अध्यक्ष सन्तनाथ सुवेदीले बताए। 'बजारसम्म उत्पादनलाई लैजान सुरु गरेका छौँ, बजारीकरण सहज भएमा उत्पादनको समस्या छैन', अध्यक्ष सुवेदीले भने।

उनका अनुसार सहकारीले मालिका गाउँपालिकाको सात वडाभित्र ७५ समूहमा आबद्ध सेयर सदस्यमार्फत उत्पादन, संकलन र बजारीकरणमा केन्द्रित भएको छ। सहकारीमार्फत आलुलगायत तरकारीको बीउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि किसानहरुले समेत बाँझो जमिनको सदुपयोग गरेका छन्।

कृषि उपजको बजारीकरण र ढुवानीका लागि स्थानीय सरकारले सहयोग गरेमा किसानको बाँझो जग्गामा कृषिजन्य उत्पादनले ढकमक्क बताउन सकिने आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले जनाएको छ। सहकारीमार्फत सामूहिकरुपमा तरकारी खेती सुरु भएसँगै कृषक पनि खुसी भएको मालिका-४, ओखरबोटकी सरीमा पुनले बताइन्। सहकारीमा कुल चार सय ८६ जना सेयर सदस्य र सेयर पुँजी ५६ लाख रूपैयाँ छ।

हालसम्म एक करोड लगानी रहेको सहकारीले कृषि उत्पादनबाहेक च्याउ, भिर मह, सिस्नोको धुलो जस्ता अन्य कृषि उत्पादनहरुलाई समेत बिक्री गर्ने गरेको छ। विसं २०७६ मा स्थापना भई मालिका गाउँपालिका कार्यक्षेत्र बनाएर सञ्चालन भएको सहकारीले उत्पादित वस्तुसँग वस्तु साट्ने, बाँझो रहेको जमिनमा कृषि खेती गर्ने र उत्पादनमूलक क्षेत्रलाई जोड दिइएको स्थानीयवासीले बताएका छन्।

अहिले संस्थाले गरेको तरकारी दरबाङ, रातोढुंगा, बाबियाचौरलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने निकट भविष्यमा सदरमुकाम बेनीबजारसहित विभिन्न क्षेत्रमा समेत बजार विस्तारको लक्ष्य छ। संस्थाले तरकारी खेतीका साथै आर्थिक कारोबारमा चार जनालाई रोजगारीसमेत प्रदान गर्दै आएको अध्यक्ष सुवेदीले बताए। रासस


प्रकाशित : मंगलबार, साउन ९ २०८००९:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend