शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

एक वर्षमै भित्रियो साढे ९१ करोड रूपैयाँको २८ लाख किलो ओखर

कुल आयातको ९४ प्रतिशत चीनबाट

मंगलबार, साउन ९ २०८०
एक वर्षमै भित्रियो साढे ९१ करोड रूपैयाँको २८ लाख किलो ओखर

भन्सार विभागका अनुसार गत आवमा नेपालले कुल २८ लाख ६ हजार ८ सय ७१ केजी ओखर आयात गरेको छ। जसमा सबैभन्दा बढी चीनबाट आयात भएको छ। ओखर आयातको ९४ प्रतिशत चीनबाट आयात भएको तथ्यांकले देखाएको छ।

काठमाडौं- गत आर्थिक वर्ष २०७९/०८० मा नेपालले कुल ९१ करोड ५२ लाख ४६ हजार रूपैयाँको ओखर आयात गरेको हो। ओखर आयातबाट सरकारले गत आवमा ३८ करोड ९४ लाख ५३ हजार रूपैयाँ राजस्व संकलनसमेत गरेको छ। 

भन्सार विभागका अनुसार गत आवमा नेपालले कुल २८ लाख ६ हजार ८ सय ७१ किलो ओखर आयात गरेको छ। जसमा सबैभन्दा बढी चीनबाट आयात भएको छ। ओखर आयातको ९४ प्रतिशत चीनबाट आयात भएको तथ्यांकले देखाएको छ। भन्सार विभागको तथ्यांकअनुसार चीनबाट मात्रै २६ लाख २५ हजार ९ सय १० किलो ओखर आयात भएको छ। 

गत आवममा आयात भएको ओखर अघिल्लो आव २०७८/०७९ को भन्दा झन्डै ५ लाख किलोले बढी हो। अघिल्लो आवमा २३ लाख ७९ हजार १ सय ९७ किलो ओखर आयात भएको थियो। यसैगरी अघिल्लो आवमा कुल ७२ करोड ८५ लाख ६२ हजार रूपैयाँ बराबरको ओखर आयात भएको थियो।

फस्टाउँदो ओखर व्यापार, व्यावसायिक खेती नहुँदा आयातमै निर्भर

ओखरको व्यापार फस्टाउँदो छ। विगत केही वर्षदेखि एक अर्ब रूपैयाँको हाराहारीमा ओखर आयात भइरहेको छ। तर नेपालमा भने ओखरको व्यावसायिक खेती छैन। नेपालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा केही मात्रामा ओखर उत्पादन भइरहे पनि त्यहाँ व्यावसायिक खेती भने छैन।

कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा स्थानीय तहले ओखर खेतीका लागि केही अनुदान तथा सहयोग गर्न थालेका छन्। ओखर खानका लागि मात्रै नभइ पूजाआजामा समेत प्रयोग हुन्छ। हिन्दु धर्मावलम्बीको विशेष पर्व तिहारको भाइटीकामा त ओखर अत्यावश्यक नै मानिन्छ।

पछिल्लो समय नेपालमा ओखर खाने चलन पनि बढेको छ। त्यसमा पनि कोरोना महामहारीपछि ओखर खाने नेपालीको संख्या बढेको तथ्यांकबाट पुष्टि हुन्छ। ओखरको बजार माग अस्वभाविक रुपमा बढेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्।

ओखर खाँदा शारीरिक स्वास्थ्यमा फाइदा हुने विषयहरू आइरहेकाले पनि आयात बढिरहेको उनको भनाइ छ। ओखरमा प्रशस्त मात्रामा फाइबर हुने, जसले पाचन क्रियालाई बलियो बनाउने विश्वास गरिन्छ। ओखरमा 'भिटामिन ई' पाइन्छ।

स्वास्थ्यका हिसाबले ओखरका विभिन्न फाइदाहरू हुने विषय सञ्चार माध्यममा आइरहेकाले पनि ओखरको बजार माग बढेको श्रेष्ठ बताउँछन्। ओखरको माग बढेसँगै बजार मूल्यसमेत बढेको छ। बजारमा अहिले ओखरको मूल्य प्रतिकिलो ६ सय रूपैयाँभन्दा बढी रहेको छ।

नेपालको बजार मागअनुसार उत्पादन नभएका कारण ओखर भारत, अमेरिका, चीनलगायतका देशरुबाट आयात भइरहेको छ।


प्रकाशित : मंगलबार, साउन ९ २०८००२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend