शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

धानबालीमा गबारोको समस्या

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ५ २०८०
धानबालीमा गबारोको समस्या

कञ्चनपुर धान खेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ।

कञ्चनपुर- कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले  समस्या पउब्जाएको छ। धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो।

गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ। आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका-१ का किसान गोपी साउदले बताए।

'धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ', उनले भने, 'धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन।'

कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको बताए।

गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउन सल्लाह दिइएको नगरपालिकास्थित  कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए।

'गबारो रोगको समस्या नगरपालिकाका सबै वडामा छ', उनले भने, 'सबैभन्दा बढी वडा नं १, २ र ७ मा देखिएको छ, गबारो रोग निदानका लागि किसानलाई उपाय सिकाउने कार्यमा लागेका छौँ, त्यसका लागि टोली परिचालन गरिएको छ।' शुक्लाफाँटा नगरपालिका-७ का किसान कल्लु डगौराले रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको बताए। 'घरमै उत्पादित प्राङ्गारिक मल हालेको खेतमा गबारोको त्यति समस्या छैन', उनले भने, 'रासायनिक मल हालेको खेतमा पूरै गबारो रोगको समस्या छ।'

नगरपालिकाको चुरे फेदीका किसानले रोपेको धानमा गबारोको प्रकोप बढी देखिएको हो। कृषि शाखका प्रमुख करन सिंह बुढाऐरका अनुसार किसान गवारोको समस्या लिएर शाखमा पुग्न थालेका छन्।

गबारो किरा शत्रु जीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ। धान बढ्ने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन उनले भने, 'धान रोपिएको ४१ देखि ८० दिनसम्म कार्वोफुरान नामक विषादीको प्रयोग गर्न सल्लाह दिएका छौँ।'

विषादीले धानका बिरुवाको उपचार गर्दा खेतमा पाँचदेखि आठ सेन्टिमिटरसम्म पानी हुनुपर्ने उनको भनाइ थियो। त्यो पानी खेतमा पाँच दिनसम्म राख्नुपर्छ। कञ्चनपुर धान खेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ५ २०८००७:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend