शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खडेरीले सुक्यो धान, चिन्तामा किसान

बिहीबार , साउन ४ २०८०
खडेरीले सुक्यो धान, चिन्तामा किसान

हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ। बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ।

राँझा- बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन्। पानीको अभावमा धान रोपेको खेत फाट्दै जाँदा किसान चिन्तित भएका हुन्। बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन।

'मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ', जानकी गाउँपालिका-१ जोगागाउँकी किसान सरिता जोशीले भनिन्, 'वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ।' जानकी-१ की महिला स्वास्थ्य स्वयम्सेविकासमेत रहेकी जोशीले खडेरीले गाउँका किसानको रोपेको धान खेतमै सुकेको र रोप्ने तयारी भएको बीउ ब्याडमै सुक्न थालेको बताइन्।

खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले जानकारी दिए। उनले यसपटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन नसकेको बताए। उनका अनुसार बाँकेमा हालसम्म ७० प्रतिशत रोपाइँ भएको छ। अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै रोपाइँ गरिएको छ।

हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ। बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ। अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुनसकेको छैन। पछिल्ला वर्ष बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पुर्‍याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएको अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए।

'सिक्टा सिँचाइ आयोजनाले पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र राप्ती सोनारी गाउँपालिकाका केही भेगका किसानले खेतमा सिँचाइ गर्न पाएका छन्', केसीले भने, 'सिक्टा नहर पूर्णरुपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ।' रासस


प्रकाशित : बिहीबार , साउन ४ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend