शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

म्याग्दीमा फस्टाउँदै केराखेती, वार्षिक १३ लाख रूपैयाँसम्म आम्दानी गर्छन् व्यावसायिक किसान

मंगलबार, साउन २ २०८०
म्याग्दीमा फस्टाउँदै केराखेती, वार्षिक १३ लाख रूपैयाँसम्म आम्दानी गर्छन् व्यावसायिक किसान

राम्रो आम्दानी हुने भएपछि यहाँ केरा खेती गर्ने किसानको संख्या बढिरहेको छ।

गलेश्वर- म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ। यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन्।

म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ। जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्यांक छ। उनीहरुले वार्षिक ६ लाखदेखि १३ लाख रूपैयाँसम्म आम्दानी गरेका छन्। बेनी नगरपालिका-२ खबराका सोभित सापकोटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताउँछन्।

चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा १० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन्।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन्। 'उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन', सापकोटा बताउँछन्।

केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ। खबराका एक सय ६० परिवार केराखेती गर्दै आएका छन्। खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका हुन्। दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन्। उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन्।

खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन्। 'धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ', कार्कीले भने। उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए। 'केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ', उनले भने।

खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गरेका छन्। केरा बिक्री गरेर वार्षिक ६ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ। खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताए।

बेनी-२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन्। धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन्। बेनी-२ खबरा र बगरफाँट, रघुगंगा गाउँपालिका-२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ। रासस


प्रकाशित : मंगलबार, साउन २ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend