बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

नागरिक लगानी कोषको २८औँ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित   

सोमबार, साउन १ २०८०
नागरिक लगानी कोषको २८औँ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित   

साधारणसभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।

काठमाडौं- नागरिक लगानी कोषको २८औँ वार्षिक साधारणभा सम्पन्न भएको छ। कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।

त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूतिसहितको बचत कार्यक्रमले समेट्ने धारणा राखे।

कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधिकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुको बारेमा उनले जोड दिए। उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै कोषको कारोबारलाई क्रमश: सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिनेमा जोड दिए।

साधारणसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रूपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले २ खर्ब १२ अर्व ६४ करोड ७३ रूपैयाँ लगानी गरेको छ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ कोषले काम गरिरहेको छ। त्यस्ता नागरिकहरुको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्ने तर्फ कायै भैरहेको पनि उनले जानकारी दिए। 


प्रकाशित : सोमबार, साउन १ २०८०१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend