बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एउटा भिन्न पार्क : जहाँ छन् नौमती बाजा 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
एउटा भिन्न पार्क : जहाँ छन् नौमती बाजा 

गण्डकी- अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन्। विवाह, व्रतबन्धलगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ।

नेपालीको मौलिक पहिचान जस्तै बनेको नौमती बाजाका लागि ख्याति कमाएको कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ धितालस्थित पोखरीडाँडामा निर्माण गरी सञ्चालनमा आएको नौमती बाजा पार्कका कारण यतिखेर थप चासो र चर्चामा रहेको छ।

खुला आकाशमुनि सार्वजनिक जग्गामा निर्माण गरिएको नौमती बाजा पार्कमा सुमधुर स्वरमा शुभसन्देश दिने नरसिङ्गा, नौमती बाजाको प्रमुख आकर्षणका रूपमा बजाइने सहनाई जोडी, दमाहा, सानो दमाहा, झ्याली, ट्याम्को, ढोलक, बाजा प्रदर्शन गरिएको छ।

सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एकापसमा जुधाएर बजाइन्छ। नौजना वाद्यवादक कलाकारहरुले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो टोलीलाई नौमती बाजा भनिएको हो। विशेषगरी आलुमिनियम, तामा, पित्तललगायतका धातु, काठ र घरपालुवा जनावरको छाला प्रयोग गरेर बाजा निर्माण गरिन्छ।

naumati baja park (3).jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय जनसहभागिताको आर्थिक एवं माछापुच्छ्रे गाउँपालिकाको प्राविधिक सहयोगमा निर्माण गरिएको सो पार्क २०७६ साल असार महिनादेखि सञ्चालनमा आएको नौमती बाजा पार्क निर्माण समितिका अध्यक्ष इन्जिनियर सुनिल दाहालले जानकारी दिए। 

उनका अनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य स्व रवीन्द्र अधिकारीको विशेष पहलमा १६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको सो पार्क निर्माणका लागि मन्त्रालयबाट १५ लाख र एक लाख रुपैयाँ बराबरको स्थानीय जनसहभागिता परिचालन गरिएको हो।

नौमती बाजा पार्क सञ्चालनमा आएसँगै यस क्षेत्रमा दैनिक १ सय देखि ५ सय जनासम्म आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्ने गरेको उल्लेख गर्दै उनले भने, 'पर्यटकको आवगमनसँगै आसपासको व्यापार व्यवसायमा समेत सहयोग पुगेको छ।'

पार्कमा प्रदर्शित बाजाको तालसहित अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङ्खलासहित रमणीय गाउँ ल्वाङ, रिभानसहितको दृश्यावलोकन गर्न सकिने सो क्षेत्रमा परम्परागत पानीका कुवा, कुटानी-पिसानीका सामग्री ढिकी, जाँतो, पानी घट्ट, काश्यप ऋषिको मूर्तिसहितका विभिन्न संरचना निर्माण गरी प्रदर्शन गर्ने तयारी समितिले गरिरहेको उनको भनाइ छ।

naumati baja park (1).jpg

सो स्थानमा रहेको साँदी पोखरी दुई लाख रुपैयाँको लागतमा संरक्षण गरिएको छ। समुद्री सतहबाट लगभग १ हजार ५ सय मिटरको उचाइमा रहेको सो पोखरी संरक्षण गरेसँगै वर्षाको पानी सङ्कलन हुने गरेको छ। उक्त पोखरीको पानी बर्सातको समयमा स्थानीय बासिन्दाले सिँचाइका लागि उपयोग गर्दै आएका छन्।

सो क्षेत्रमा धम्पुस लिफ्टिङमार्फत धितालमा खानेपानीको व्यवस्थासहित उक्त पार्क र पोखरीमा पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउँदै दाहालले भने, 'सम्पूर्ण योजना सम्पन्न गर्न करिब चार करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ।'

बाजा पार्कको आँगनमा रहेको साँदी पोखरामा माछापुच्छ्रे हिमालको प्रतिबिम्वको दृश्यले जो कोहीलाई पनि मनमुग्ध बनाउने गरेको पार्क अवलोकनका लागि पुगेका पोखरा-१७ विरौटाका भेषराज बरालको भनाइ छ।

जनप्रिय बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख एवं जिल्ला बचत सङ्घ कास्कीका अध्यक्षसमेत रहेका बरालका अनुसार मौलिक बाजा संरक्षणका साथै प्रदर्शन गरेर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

naumati baja park (4).jpg

उक्त क्षेत्रको अस्ताममा सञ्चालित अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीका अनुसार होटेलमा आउने पर्यटकका लागि बिहानको घुमफिर पार्क पर्ने गरेको छ। होटेलमा बास बसेका अधिकांश पर्यटकलाई बाजा पार्कमा जान प्रेरित गर्दै आएको उनको भनाइ छ।

पार्कको नजिकै बाँसको लिङ्गे पिङ स्थापना गरिएको छ। पिङमा मच्चिँदै आँखाको अघि देखिने हिमशृङ्खलासहितको हरियाली, खोलानाला एवं रमणीय गाउँबस्तीको दृश्यबाट पर्यटकले छुट्टै आनन्द लिने गरेको पार्क निर्माण समितिका उपाध्यक्ष रीता गुरुङले जानकारी दिइन्।

पोखराको हेम्जास्थित मिलनचोकबाट धम्पुस सडकखण्डमा लगभग आठ किलोमिटर दूरीमा रहेको सो पार्कमा प्रवेशका लागि टिकटको व्यवस्था नहुँदा कहाँबाट र कति सङ्ख्यामा पर्यटक आए भन्ने तथ्याङ्क छैन। रासस


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend