बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुस्त गतिमा भोल्टे सेवा, मोबाइल नेटवर्कमा लिगेसी टेक्नोलोजी विस्थापन नीतिमा धक्का 

सोमबार, असार २५ २०८०
सुस्त गतिमा भोल्टे सेवा, मोबाइल नेटवर्कमा लिगेसी टेक्नोलोजी विस्थापन नीतिमा धक्का 

त्यस्तै नेपाल टेलिकममा ९ प्रतिशत ग्राहकले भोल्टे सेवा लिएका छन्। नेपाल टेलिकमका १ करोड २५ लाख फोरजी ग्राहक छन् यसमध्ये जम्मा ११ लाख ५० हजार ग्राहक रहेका छन्। 

काठमाडौं- फ्रिक्वेन्सी व्यवस्थापन तथा गुणस्तरीय टेलिफोन तथा डेटा सेवा प्रवाहका लागि आधुनिक प्रविधिको विस्तार सुस्त देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा धेरैथरी मोबाइल नेटवर्क प्रविधि रहेकाले फ्रिक्वेन्सीको किफायति उपयोगिता नदेखिएको भन्दै नयाँ प्रविधिमा लैजान सेवाप्रदायकलाई आग्रह गर्न थालेको धेरै भइसकेको छ। सेवाप्रदायकहरूले पनि नयाँ प्रविधिमा आउनका लागि ग्राहकलाई उत्प्रेरित गरेका छन्। 

नियामक र सेवाप्रदायकको निरन्तरको प्रयासका बाबजुद पनि प्रगति भने सुस्त देखिएको छ। विशेषगरि पछिल्लो समय फोरजी सेवाको विस्तार तीव्र भएपछि यसअघि नै विस्तार भएका थ्रीजी र टुजी प्रविधिका नेटवर्कलाई स्वीच गराउँदै जाने प्राधिकरणको नीति रहेको छ। 

प्राधिकरणको नीतिअनुसार नै थ्रीजी प्रविधिको नेटवर्कलाई स्वीच गर्न सहज भएपनि टुजीका लागि भने कठिन देखिएको छ। मोबाइल डिभाइसको विस्तारसँगै पछिल्लो समय थ्रीजी आफै विस्थापित हुने चरणमा रहेपनि टुजी प्रविधि विस्थापित हुन भने कठिन देखिएको छ। 

अहिले डेटा सेवाका लागि थ्रीजी वा फोरजी एलटीई नेटवर्क भएपनि भ्वाइस टेलिफोनका लागि भने टुजी नेटवर्क नै रहेको छ। हाल कुनै पनि प्रयोगकर्ताले मोबाइलमा फोरजी नेटवर्क भएपनि फोन भ्वाइस टेलिफोन गर्नेवित्तिकै टुजी नेटवर्कमा फलब्याक हुने गरेको छ। यसैले गर्दा टुजी नेटवर्क अत्यावश्यक भरपर्दो पनि रहेको छ। 

टुजी नेटवर्कलाई पनि विस्थापन गर्नका लागि भ्वाइस सेवालाई एलटीई नेटवर्कमै दिने प्रविधिमात्र होइन सेवाप्रदायकले सेवा पनि सुरू गरिसकेका छन्। भ्वाइस ओभर एलटीई अथाव भोल्टे सेवा नेपालका दुबै सेवाप्रदायक कम्पनीले सुरू गरेका पनि छन्। 

नेपाल टेलिकमले पछिल्लो डेढ वर्षदेखि भोल्टे सेवा दिइरहेको छ भने एनसेलले पनि पछिल्लो ११ महिनादेखि दिइरहेको छ। तर भोल्टे सेवाको विस्तार सुस्त देखिएको छ। 

एनसेलको एलटीई नेटवर्कमा रहेका ग्राहकमध्ये जम्मा ६ प्रतिशतले भोल्टे सेवा लिएका छन्। असार १५ गतेसम्मको तथ्यांक अनुसार एनसेलका कुल ७१ लाख १४ हजार फोरजी ग्राहक रहेका छन्। यसमा जम्मा ४ लाख ७० हजारले मात्र भोल्टे सेवा लिएका छन्। 

त्यस्तै नेपाल टेलिकममा ९ प्रतिशत ग्राहकले भोल्टे सेवा लिएका छन्। नेपाल टेलिकमका १ करोड २५ लाख फोरजी ग्राहक छन् यसमध्ये जम्मा ११ लाख ५० हजार ग्राहक रहेका छन्। 

भोल्टे सेवाका बारेमा ग्राहकमा जानकारि तथा प्राविधिक जटिलताले गर्दा विस्तार सुस्त भएको नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारी बताउँछन्। ‘यो सेवाका लागि प्रविधिमात्र भएर हुँदैन यसका लागि डिभाइसको उपलब्धतता पनि हुनुपर्छ। अर्को कुरा ग्राहकमा जानकारी पनि हुनुपर्छ’ उनले भने। 

टुजी नेटवर्कको तुलनामा एलटीईमा भ्वाइस सेवा हुँदा स्पष्ट र अवरोधरहित कल हुने कम्पनीहरूले बताएका छन्। गुणस्तरीय भ्वाइस सेवाका लागि भोल्टे उपयुक्त भएपनि यसका लागि इन्टरनेट कनेक्सन चाहिने र डिभाइसले पनि सपोर्ट गर्नुपर्छ। यी अवरोध र झन्झटका कारण पनि उपभोक्ता बढ्न नसकेको कम्पनीहरूले बताएका छन्। 


प्रकाशित : सोमबार, असार २५ २०८००५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend