शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

आइतबार, असार २४ २०८०
पिँडालु खेतीले उकासेको महिलाको जीवनस्तर

पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ।

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका-१ जुकेपानीकी सानुमाया तामाङले पिँडालु खेती गर्न थालेको १७ वर्ष भयो। पिँडालु खेतीबाट नै उनले आफ्नो घरखर्च धानेकी छिन्।

उनले अहिले सात कठ्ठा क्षेत्रफलमा पिँडालु खेती गरेकी छिन्। यस क्षेत्रमा सिँचाइको अभाव भएका कारण धान, गहुँ, तोरीलगायतका बाली राम्रो नहुने हुँदा यहाँका अधिकांशले पिँडालु खेती गर्ने गरेको तामाङले बताइन्।

यस्तै अर्का किसान पूर्णमाया तामाङले पनि विगत १४ वर्षदेखि पिँडालु खेती गर्दै आएकी छिन्। उनले अहिले १० कट्ठा क्षेत्रफलमा हात्ती पाउ पिँडालु लगाएकी छिन्। 'केही वर्ष पहिले बजारको पहुँच राम्रो नहुँदा पिँडालुसँग धान साटेर ल्याउने गरिन्थ्यो', उनले भनिन्, 'अहिले बजारीकरण भएसँगै पिँडालु बिक्री गर्नमा कुनै समस्या छैन, विभिन्न स्थानमा निर्यात हुने गरेको छ।'

पछिल्ला वर्षमा पिँडालु खेतीबाट नै एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको कृषको भनाइ छ। पिँडालु खेतीले यहाँको समुदायलाई समूहिकरुपमा काम गर्ने परम्पराको विकाससमेत गरेको कृषक सम्झना तामाङले बताइन्।

'जुकेपानीको तामाङ टोलका २५ घरले पिँडालु खेती गरेका छौँ', उनले भनिन्, 'सबै घरका मिलेर सामूहिकरुपमा अर्मपर्म गरेर काम गर्दा सहज हुने गरेको छ।' यस क्षेत्रका २५ घरधुरी परिवार अहिले पिँडालु खेतीमा नै आत्मनिर्भर रहेका छन्। तामाङ टोलमा एउटै परिवारले वार्षिक ५० क्विन्टलभन्दा धेरै पिँडालु उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

'हुप्सेकोट गाउँपालिका क्षेत्र तरकारी पकेट क्षेत्रका रुपमा परिचित छ', उनले भनिन्, 'यहाँको तरुलसँगै पिँडालुको पनि बजारमा धेरै माग देखिएको छ।' गाउँपालिकाले कृषकलाई आवश्यक कृषि सामग्री, मल, बीउ वितरण र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष पाण्डेले बताइन्। रासस


प्रकाशित : आइतबार, असार २४ २०८०१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend