शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

व्यावसायिक रुपमा दूध बिक्री गर्ने थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान

शनिबार, असार २३ २०८०
व्यावसायिक रुपमा दूध बिक्री गर्ने थाहा नगरपालिकाका तीन सय कृषकलाई अनुदान

गाईको दूधमा प्रतिलिटर एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो। नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। 

मनहरी- मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ। नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई आठ लाख चार हजार चार सय २२ रूपैयाँ अनुदान वितरण गरेको गरिएको छ।

नियमित रुपमा डेरीमार्फत दूध बिक्री गर्ने कृषकले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए। 'डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना कृषकले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए', उनले भने, 'सोही परिमाणका आधारमा एक लाख ५६ हजार नौ सय ७० रूपैयाँ वितरण गरिएको हो।'

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ कृषकले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ रूपैयाँ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ।

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर एक रूपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर दुई रूपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो। नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। 

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए। नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरुप गाईभैँसी पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असार २३ २०८००६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend