शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खानीगाउँका २६ परिवार, सबैले गरिरहेका छन् बाख्रापालन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार २२ २०८०
खानीगाउँका २६ परिवार, सबैले गरिरहेका छन् बाख्रापालन

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ।

गलेश्वर- दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका-१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले। उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे। बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन्। सुरुवातमा १७ स्थानीय र ४ अस्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले १ सय २० बाख्रा पालेका छन्। 

बुढाथोकीले मात्रै होइन २६ परिवारको बसोबास रहेको खानीगाउँका सबै व्यावसायिकरुपमा बाख्रापालनमा होमिएका छन्। गाउँको नाम नै खानीगाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ। हरेकका घरमा बाख्राको व्यवस्थित खोर बनाइएको छ। तीन वर्षयता बुढाथोकीले बाख्रा र बोका बिक्री गरेर वार्षिक १० लाख रूपैयाँ आम्दानी गरेको बताए।

'विदेशबाट फर्किएपछि ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म खोलेँ', उनले भने। बाख्रापालन मात्रै होइन बुढाथोकीले अहिले व्यावसायिक तरकारी खेतीसमेत गर्दै आएका छन्। उनले सुन्तलाका तीन सय बिरुवासमेत लगाएका छन्। 'वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य छ', उनले भने।

विदेशमा सिकेको सीपको सदुपयोग गर्दै बाख्रापालन व्यवसाय र कृषि उद्यम थालेको ४८ वर्षीय बुढाथोकीले बताए। 'मेरै बाटो पछ्याएर गाउँका अरुले  बाख्रापालन थालेका हुन्, तरकारी खेती र बाख्रापालनले गाउँको परिचय नै फेरिएको छ', उनले भने। सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा  परिवर्तन आएको उनको अनुभव छ। 

बुढाथोकीको सिको गरी गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रापालनमा लागेको छ। 'चरनको समस्या छैन', बाख्रापालक कृषक राजन राम्जालीले भने। विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिङ्गो गाउँमा वितरण गर्ने, समूह बनाएर सीप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन गरिँदै आएको छ। 

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नत जातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जङ्गलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ। 'मिलेर बाख्रापालन गरेका छौँ', राम्जालीले भने। 

बाख्रापालन, कृषिका साथै सुन्तला खेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँच वर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफूल खेतीबाट लाखौँ भित्रिने स्थानीय बताउँछन्। खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तला खेतीसहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राइखनियो, नेपिएर, किम्बुलगायत घाँस लगाएका छन्।

मङ्गला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ। गुप्तेश्वर कृषक समूहमा हाल ३४ कृषक आबद्ध छन्। उनीहरुले ६ सयभन्दा बढी बोका, बाख्रा र पाठापाठी पालेका छन्। गाउँपालिकाले उनीहरुलाई २२ लाख अनुदानसमेत दिएको गाउँपालिकाका प्रवक्ता एवं कुहुँका वडाध्यक्ष एकजित रोकाले बताए। मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकालाई कृषि र पशुपालनमा नमूना गाउँ बनाउने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको बताए। रासस


प्रकाशित : शुक्रबार, असार २२ २०८००५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend