मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

images
बिहीबार , असार २१ २०८०
images
images
बस्ती जोगाउन बुङखोलाको व्यवस्थापन गर्दै कालिका नगरपालिका

बर्सेनि वर्षा लागेपछि जुटपानी र पदमपुरका बस्ती डुबानमा पर्दै आएका छन्। बस्ती जोगाउन र सिँचाइका लागि नहर निर्माण गरी बुङखोलालाई व्यवस्थापन गर्न लागिएको हो।

images
images

मुग्लिन- चितवनको कालिका नगरपालिकाले बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्ने भएको छ। नगरपालिकाको ५ वटा वडाका बस्ती बर्सेनि डुबानमा पर्दै आएकाले वडा नं ७ मा पर्ने बुङखोलालाई थाङखोलामा मिसाउने गरी व्यवस्थापनको काम सुरु गरिएको हो।

images
images
images

बुङखोलादेखि थाङखोलासम्म नहर निर्माण गर्ने कार्य भइरहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिए। उनका अनुसार बुङखोलाका कारण वर्षायाममा कालिका नगरपालिकाको वडा नं १, २, ३ , ६ र ७ का केही बस्ती डुबानमा पर्दै आएका छन्। ती बस्तीलाई जोगाउन बुङखोलामा पानीको सतह बढेको बेलामा केहीमात्रामा पानी थाङखोलातर्फ पठाइनेछ।

images
images

'वर्षायाममा बुङखोलाका कारण हरेक वर्ष नगरपालिका- १, २, ३ ६ र  ७ वडाका केही बस्ती डुबानमा पर्दै आएका छन्, ती बस्तीलाई डुबानबाट बचाउन पानीको बहाब बढेका बेला आवश्यकताअनुसार केही मात्रामा थाङखोलातर्फ पठाउन नहर निर्माण गरेका हौँ, थाङखोलातर्फ असर नपर्ने गरी नहरले धान्न सक्नेगरी व्यवस्थापन गर्नेछौँ', उनले भने। खोलामा तटबन्धन गरेर खेत, बस्तीलाई सुरक्षित बनाउने र सिँचाइका लागि आवश्यक परेको ठाउँबाट कुलो निर्माण गरेर पानी लैजाने उनको भनाइ छ। 

images
images
images

अहिले उपभोक्ता समिति बनाई ९५ लाख रूपैयाँको लागतमा बुङखोलादेखि थाङखोलासम्मको सात सय मिटरको नहर निर्माण कार्य भइरहेको छ। कालिका नगरपालिकाको ७० लाख रूपैयाँ र सिँचाइ विकास डिभिजन कार्यालय चितवनबाट २५ लाख रुपैयाँ गरी ९५ लाख रूपैयाँको लागतमा नहरको नयाँ ट्र्याक खोल्ने काम भइरहेको प्रमुख  रेग्मीले बताए।

उनका अनुसार नयाँ ट्र्याक खोल्ने काम असार मसान्तसम्म सम्पन्न हुनेछ। बुङखोलाको पानी पूर्णरुपमा संरचना निर्माण  भएपछि आगामी वर्ष मात्र थाङखोलामा मिसाइनेछ। कालिका नगर क्षेत्रकै गौरवको आयोजनाका रुपमा सुरु गरिएको थाङखोला-बुङखोला  व्यवस्थापन आयोजनाका लागि संघीय सरकारबाट समेत एक करोड ५० लाख रूपैयाँ विनियोजनसमेत भएको उनले बताए।

'हामीले बुङखोला-थाङखोला व्यवस्थापनको आयोजनालई  गौरवको आयोजनाका रुपमा काम सुरु गरेका छौँ, यसपटक बुङखोलादेखि थाङखोलासम्म नहरको नयाँ ट्याक खोलिनेछ,' उनले भने, 'यो नहर पूर्णरुपमा संरचना निर्माण भइसकेपछि आगामी वर्ष मात्र सञ्चालन गरिनेछ, संघीय सरकारबाट एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ।'

प्रमुख रेग्मीका अनुसार बुङखोला व्यवस्थापनका लागि निर्माण गरिएको नहरलाई सिँचाइ कुलोका रुपमा पनि प्रयोग गरिनेछ। बुङखोलातर्फ पर्ने वडाका बस्तीलाई डुबानबाट जोगाउने र सिँचाइका लागि प्रयोग हुने उनको भनाइ छ।

थाङखोला-बुङखोला व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष टीकाराज रिजालका अनुसार बुङखोलालाई  वडा नं ३ मा पर्ने थाङखोलामा झारेर खगेरी खोलामा मिसाउने गरी तयारी गरिएको छ। बुङखोलादेखि खगेरी खोलासम्म ६.५ किलोमिटर रहेको छ। १३ वटा स्पर निर्माण गरी खगेरी खोलासम्म संरक्षण गर्ने काम अघि बढाइएको उनले बताए। उनका अनुसार बुङखोलादेखि थाङखोलासम्म तटबन्धनसहित नयाँ ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ। अहिले ग्याबिङ, स्पर बनाउने, खोलालाई चाक्लो बनाउने काम भइरहेको उनले बताए।

बुङखोला सोली आकारको भएकाले माथिबाट आएको पानीले निकास नपाउँदा बर्सेनि बस्ती डुबानमा पर्ने गरेको उनको भनाइ छ। यो आयोजना सम्पन्न भएपछि बस्ती डुबानबाट बच्नका साथै सिँचाइको सुविधासमेत हुनेछ। उनले भने, 'बुङखोला सोली आकारको छ, माथितिरको भाग ठूलो र निकास हुने भाग साघुँरो छ, जसले गर्दा बर्सेनि वर्षायाममा बस्ती डुबानमा पर्दै आएको छ, यो नहर निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बस्ती डुबानबाट बच्नेछ भने सिँचाइको सुविधा पनि पुग्नेछ।'

वडा नं ३ का वडाध्यक्ष वीरेन्द्र तामाङका अनुसार विस २०५६ मै बुङखोलालाई थाङखोलामा मिसाउने कार्य सुरु भएको थियो। तर तत्कालीन जुटपानी गाविसले कुलो मासिन्छ भनेर काम रोकिदिएका थिए।

स्थानान्तरण गरिएको नयाँ पदमपुर बस्तीलाई जोगाउन बुङखोला र थाङखोलालाई व्यवस्थापन गर्ने गरी पदमपुर बस्ती स्थानान्तरण आोयोगले  विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गरी काम सुरु गरेका थिए। त्यतिबेला नहर निर्माणका लागि हाल काम भइरहेकै स्थानमा जंगल फँडानी गरेर काम सुरु भए पनि निरन्तरता पाउन सकेका थिएनन्।

बर्सेनि वर्षा लागेपछि जुटपानी र पदमपुरका बस्ती डुबानमा पर्दै आएका छन्। बस्ती जोगाउन र सिँचाइका लागि नहर निर्माण गरी बुङखोलालाई व्यवस्थापन गर्न लागिएको वडाध्यक्ष तामाङले बताए। रासस


प्रकाशित : बिहीबार , असार २१ २०८००९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend