मंगलबार, जेठ २० गते २०८२    
मंगलबार, जेठ २० २०८२
images
images

वैदेशिक रोगारीले सुनसान बन्दै गाउँ, युवा भेटाउनै मुस्किल

images
बिहीबार , असार २१ २०८०
images
images
वैदेशिक रोगारीले सुनसान बन्दै गाउँ, युवा भेटाउनै मुस्किल

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार यस नगरपालिकाबाट सात हजार भन्दा बढी मानिसहरु वैदेशिक रोजगारका लागि गएका छन्।

images
images

नवलपुर- वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन्। युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकमात्रै देखिन थालेका छन्। 

images
images
images

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एकजना वैदेशिक रोजगारमा गएका स्थानीयवासी बताउँछन्। मध्यविन्दु-३ का अगुवा गुणराज पौडेलले स्थानीय युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जाने तयारीमा लाग्ने गरेको बताए। 'यहाँका युवाहरु १८ वर्ष पुग्ने वित्तिकै वैदेशिक रोजगारमा जानका लागि पासपोर्ट बनाउँछन्' उनले भने, 'सक्ने १२ पास गरेपछि अध्ययनका लागि भन्दै विदेश जान्छन्, नसक्नेहरु पासपोर्ट बनाएर मेलेसिया, कतारलगायत खाडी मुलुकतिर जाने गरेका छन्।' 

images
images

कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेटाउनै मुस्किल हुने गरेको पौडेलले  गुनासो गरे। 'नगरपालिकाभित्र पर्ने भए पनि पिछडिएको क्षेत्र भएकाले यहाँबाट कमाउनका लागि विदेश जाने युवा धेरै छन्' उनले भने, 'वैदेशिक रोजगारमा जाने क्रम रोकिएन भने गाउँमा मलामी जाने युवाको समेत अभाव हुने सम्भावना देखिएको छ।'

images
images
images

वैदेशिक रोजगारमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्ला बाहिरका सहरमा जाने गरेकाले गाउँमा युवाहरु भेटाउनै मुस्किल हुने गरेको पौडेलले बताए।

स्थानीय ६० वर्षीय फणिन्द्रदेवी उपाध्यायका दुई छोरामध्ये दुवै वैदेशिक रोजगारमा छन्। 'एउटा छोरा साउँदीमा छ, अर्को थाइल्याण्डतिर व्यवसाय गरेर बसेको छ', उनले भनिन्, 'स्वदेश फर्किएर केही गर् भन्दा नेपालमा केही गर्ने वातावरण नै छैन भनेर फर्किएका छैनन्।' अहिले आफूसहित घरमा एउटी बुहारी र साना नातिनातिना मात्रै बस्ने गरेको उनले बताइन्।

'बूढेसकालको साहारा बन्लान् भनेर छोराछोरी पाल्यो, हुर्कायो, बढायो तर उनीहरु घर बाहिरै गएर रमाउने भए' उपाध्यायले भन्नुभयो, 'दुई तीन वर्षमा आउँछन्। आउने वित्तिकै जान हतार हुन्छ, गइहाल्छन्।' उहाँका अनुसार गाउँबाट एउटै परिवारका तीन-चार जनासम्म युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन्। 

गाउँबाट रोजगारीका लागि भारतमा जाने युवाको संख्या कति छ भनेर कुनै तथ्यांक नै नभएको स्थानीय बताउँछन्। 

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार यस नगरपालिकाबाट सात हजार भन्दा बढी मानिसहरु वैदेशिक रोजगारका लागि गएका छन्। मध्यविन्दु नगरपालिकामा १५ हजार चार ३० परिवार रहेकामा सात हजार ६ सय ३९ जना मानिस वैदेशिक रोजगारमा गएका तथ्यांकले देखाएको छ। राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार पनि औषतमा प्रति दुई परिवारमा एक जना वैदेशिक रोजगारमा जाने गरेको देखिएको छ।

वैदेशिक रोजगारमा जानेमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन्। यस उमेर समूहका तीन हजार पाँच सय ९८ युवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छ हजार नौ सय ९७ जना युवा मध्यविन्दु नगरपालिकाबाट वैदेशिक रोजगारमा गएका विभागले जनाएको छ।

युवाहरु विदेश पलायन हुँदा मुलुकको चौतर्फी विकासमा असर पर्ने मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताए। 'अहिले मुलुक नवनिर्माणको अभियानमा छ। यसबेला देशमा दक्ष र प्राविधिक जनशक्तिको खाँचो छ', उनले भने, 'तर, प्रतिभा पलायनले गर्दा दक्ष जनशक्तिको अभाव छ। मुलुक निर्माणको महाअभियानमा युवालाई विकासको साझेदार बनाउनुपर्छ।'

युवाको ज्ञान, सीप, सिर्जनशीलता र ऊर्जा राष्ट्र निर्माणमा लगाउन सके मात्र विकास सम्भव भएको नगरप्रमुख अधिकारीले बताए। हरेक वर्ष ठूलो संख्यामा यसवा शक्ति वैदेशिक रोजगारीमा जानु दुःखद् भएको उनको भनाइ थियो।

'युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ', नगरप्रमुख अधिकारीले भने, 'यसका लागि तीनै तहको सरकारका साथै मुलुकका उद्योगी व्यवसायीको सहकार्य आवश्यक छ।'

पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्थानीयस्तरमै स्वरोजगार बनाउनका लागि सहुलित ऋण उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिरहेको उनले बताए। रासस 


प्रकाशित : बिहीबार , असार २१ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend