शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

अनुदानले बाँझो जमिनमा खेती गर्ने क्रम बढ्यो

शनिबार, असार १६ २०८०
अनुदानले बाँझो जमिनमा खेती गर्ने क्रम बढ्यो
फाइल तस्बिर

गाउँपालिकाले बनाएको कार्यविधिमा बाँझो जग्गाका बारेमा जानकारी नगराउने किसानलाई प्रतिरोपनी दुई सय रूपैयाँका दरले जरिवाना तिराउने व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकृत तुलसीरामआचार्यले बताए। उनका अनुसार प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले तयार गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने छ।

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ। पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ।

पालिकाले किसानलाई प्रोत्साहनस्वरुप प्रतिरोपनी तीन हजार रूपैयाँसम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। अनुदान पाएपछि वर्षौँदेखि बाँझो रहँदै आएका नौ सय ३८ रोपनी जमिनमा किसानले खेती गर्न थालेका उनले बताए।

'आर्थिक वर्ष ०७७/७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदानस्वरुप प्रोत्साहन रकम दिन सुरु गरेको हो,' अध्यक्ष भट्टले भने, 'अनुदान कार्यक्रमले किसानमा जमिन बाँझो राख्नुहुँदैन, उत्पादनमा लाग्नुपर्छ भन्ने भावना विकास हुनुका साथै उत्साह पनि थपेको छ।' उनका अनुसार तीन वर्षदेखि गाउँपालिकाले ‘बाँझो जग्गा उपयोग कार्यविधि २०७७’ कार्यविधि बनाएर अनुदान उपलब्ध गराउँदै आएको हो।

अनुदान कार्यक्रम सुरु गर्नुभन्दा पहिला पालिकाभित्र कति खेतीयोग्य जमिन बाँझो भनी तथ्यांक संकलन गरिएको अध्यक्ष भट्टले जानकारी दिए। 'प्राप्त तथ्यांकका आधारमा बाँझो जमिन राख्ने किसानलाई अनुदान उपलब्ध गराउन थालिएको हो', उनले भने

गाउँमा पछिल्लो समय खेती गर्ने क्रम बिस्तारै घट्दै गएर कृषिजन्य वस्तुको आयात बढ्न थालेको अध्यक्ष भट्टको भनाइ थियो। स्थानीय उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले किसानका लागि प्रोत्साहन नीति ल्याएको उनले बताए।

कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउँदै कृषि पेसाबाट स्वरोजगारी सिर्जना गर्न पालिकाले सञ्चालन गरिरहेको किसानलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको स्थानीय कृषक मोहन ढकालले बताए। 'जमिन बाँझो राखेर लाखौँ रुपैयाँ ऋण काढेर विदेश नै जानुपर्छ भन्ने सोचको विकास हामीमा छ,' उनले भने, 'किसानलाई  प्रोत्साहन गर्ने कार्यक्रमले विदेश जानुभन्दा कृषि पेसाबाट पनि आत्मानिर्भर बन्न सकिन्छ भन्ने धारणा विकास गरिदिएको छ।'

ढकालका अनुसार साँध सिमानामा छिमेकीले बाँझो जमिनमा खेतीपाती गर्न थालेका छन्। किसानलाई पनि अनुदान कार्यक्रमले राहत पुगेको भन्दै गाउँपलिकाभित्र कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको उनको भनाइ थियो। 

बाली र प्रकृति हेरी बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन बापत अनुदान रकम उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए। 'खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रतिरोपनी तीन हजार रूपैयाँसम्म, मसला बाली गर्नेलाई प्रतिरोपनी दुई हजार पाँच सय रूपैयाँसम्म, फलफूल बाली लगाउने कृषक, कृषि समूह वा फार्मलाई प्रतिरोपनी दुई हजार रूपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ', उनले भने।

गाउँपालिकाले बनाएको कार्यविधिमा बाँझो जग्गाका बारेमा जानकारी नगराउने किसानलाई प्रतिरोपनी दुई सय रूपैयाँका दरले जरिवाना तिराउने व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकृत आचार्यले बताए। उनका अनुसार प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले तयार गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने छ। रासस


प्रकाशित : शनिबार, असार १६ २०८००६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend