शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

बुधबार, असार १३ २०८०
झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन
फाइल तस्बिर

टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताए। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उनको भनाइ छ।

झापा- जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्।

गौरादह नगरपालिका-२ र अर्जुनधारा नगरपालिका-३ मा टिस्यु कल्चर प्रविधिबाट जी-नाइन, विलियम हाइब्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो।

जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताए। उनका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं-१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ।

केरा खेतीमा आत्मनिर्भर बनाउन थालिएको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले गौरादह नगरपालिकामा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन थालिएको बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताए। हालसम्म सरकारबाट कुनै सहयोग नलिएको उनले बताए। संस्थाले काठमाडौंको बूढानीलकण्ड नगरपालिका-२ र गौरादहमा उक्त प्रविधिको प्रयोग गरी केराका बिरुवा उत्पादन गरिरहेको उनले जानकारी दिए।

सञ्चालक कार्कीले विसं २०७२ मा बूढानीलकण्ठमा ल्याब सुरु गरेको बताउँदै झापामा विसं २०७६ देखि सुरु गरेको बताए। उनले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानी ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार ल्याबका लागि दुई करोड रूपैयाँ लगानी गरिएको छ।

'ल्याबबाट वार्षिक ८० हजार केराको बिरुवा र एक लाख आलुको बिरुवा उत्पादन हुने गरेको छ', सञ्चालक कार्कीले भने, 'टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ।'

यस प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने उनले बताए। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उनको भनाइ छ।

कार्कीले भने, 'झन्झटिलो भए पनि यस्तो बिरुवाबाट उत्पादन गरिएको केराको बोटमा फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन्। भारतबाट सस्तो मूल्यमा आयातित बिरुवाका कारण कहिलेकाहीँ बजारीकरणमा समस्या छ।' उनका अनुसार ल्याबमा हाल १० जना स्थानीयले रोजगारी पाएका छन्।

यहाँ उत्पादित केराको बिरुवा जिल्लामै खपत हुँदै आएको कार्कीले बताए। भारतबाट आउने सस्तो मूल्यको बिरुवाका कारण कहिलेकाहीँ विक्रीमा भने समस्या हुने गरेको छ।

नर्सरीबाट जी नाइन, विलियम हाइब्रेड जातको बिरुवा प्रतिगोटा ३५ र मालबोक केराको बिरुवा प्रतिगोटा ६५ रूपैयाँले बिक्री गर्दै आएको कार्कीले जानकारी दिए। किसानले चैतदेखि भदौसम्म बिरुवा रोप्ने गरेका छन्। रासस


प्रकाशित : बुधबार, असार १३ २०८०१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend