शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कृषि कर्जामा बेथिति : उत्पादनमा च्याम्पियन मधेस प्रदेश, एक तिहाइ ऋण बागमतीमा 

बुधबार, असार १३ २०८०
कृषि कर्जामा बेथिति : उत्पादनमा च्याम्पियन मधेस प्रदेश, एक तिहाइ ऋण बागमतीमा 

राष्ट्र बैंकको प्रतिवेदनअनुसार  गत वर्षको तुलनामा यो खाद्य तथा अन्य बाली, तरकारी तथा फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल २.१ प्रतिशतले घटेको छ। गत वर्षष २ प्रतिशतले बढेको थियो। यो वर्ष धान,तरकारी तथा कोदोको खेती हुने क्षेत्रफल घटेको छ भने मकै, कोदो र फलफूलको क्षेत्रफल बढेको छ। 

काठमाडौं- बैंकहरूले प्रवाह गर्ने कृषि क्षेत्रको कर्जामा क्षमता र सम्भावनाभन्दा पनि प्रभाव र पहुँच हाबी भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको नियमित अध्ययनले यस्तो देखाएको हो। 

राष्ट्र बैंकको 'अर्धवार्षिक आर्थिक गतिविधि प्रतिवेदन'अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्यांकमा आधारित विश्लेषणले उत्पादन, उत्पादन हुने क्षेत्रफल न्यून भएको प्रदेशमा कर्जा प्रवाह सबैभन्दा धेरै प्रवाह भएको देखिएको छ। 

२०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेर ३ खर्ब ४४ अर्ब ७६ करोड पुगेको छ। कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ८६ अर्ब ८७ करोड कर्जा अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा प्रवाह भएको छ। 

बागमती प्रदेशमा धेरै कर्जा गएको छ। कुल कर्जामा कोशी प्रदेशको अंश १६.८ प्रतिशत, मधेश प्रदेशको अंश १६.३ प्रतिशत, बागमती प्रदेशको अंश ३५.९ प्रतिशत, गण्डकी प्रदेशको अंश ८.९ प्रतिशत, लुम्बिनी प्रदेशको अंश १५.३ प्रतिशत, कर्णाली प्रदेशको अंश १.६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको अंश ५.२ प्रतिशत रहेको छ। 

Screenshot 2023-06-28 at 12.09.58.png

जब कि उत्पादनमा मधेस प्रदेश च्याम्पियन रहेको छ। फलफूल र मसलाबाहेक अन्य सबै उत्पादनमा मधेस प्रदेश अग्रस्थानमा रहेको छ। कुल उत्पालनमा मधेसमा खाद्य बाली २३.४ प्रतिशत, तरकारी तथा बागबानी २९.८ प्रतिशत, मसला १६.९ प्रतिशत उत्पादन हुने गरेको छ। मसला उत्पादनमा सुदूरपश्चिम र फलफूल उत्पादनमा कोशी प्रदेश एक नम्बरमा रहेको छ। 

कृषिमा पशुपंक्षी, माछा, मासु तथा अन्य उत्पादनमा अण्डा र दूध उत्पादनमा बागमती प्रदेश अग्रस्थापनमा छ। दूध उत्पादमा देशभरको कुल उत्पादनमा बागमतीको २३.५ प्रतिशत छ। यसमा मधेस प्रदेश दोस्रोमा छ। त्यस्तै अण्डामा पनि बागमती ३३ प्रतिशतसहित पहिलो नम्बरमा छ। 

मासु उत्पादनमा भने मधेस प्रदेश नै पहिलो स्थानमै छ। मधेसको मासु उत्पादनमा २३.३ प्रतिशत हिस्सा छ भने माछा उत्पादनमा मधेस ३९.३ प्रतिशतसहित पहिलो नम्बरमा छ। 

राष्ट्र बैंकको प्रतिवेदन अनुसार  गत वर्षको तुलनामा यो खाद्य तथा अन्य बाली, तरकारी तथा फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल २.१ प्रतिशतले घटेको छ। गत वर्षष २ प्रतिशतले बढेको थियो। यो वर्ष धान,तरकारी तथा कोदोको खेती हुने क्षेत्रफल घटेको छ भने मकै, कोदो र फलफूलको क्षेत्रफल बढेको छ। 

खेती हुने क्षेत्रफल घटेपनि यो वर्ष उत्पादन भने ४.३ प्रतिशतले बढेको छ। गत वर्ष भने ०.१ प्रतिशतले घटेको थियो। यसमा खाद्य बालीको उत्पादन सबैभन्दा धेरै ५.७ प्रतिशतले बढेको छ। खाद्यमा सबैभन्दा धेरै हिस्सा धानको  छ। 


प्रकाशित : बुधबार, असार १३ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend