शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

उन्नत तथा हाइब्रिड बीउमा कृषकको आकर्षण, संरक्षण हुन छाड्यो रैथाने बाली

आइतबार, असार १० २०८०
उन्नत तथा हाइब्रिड बीउमा कृषकको आकर्षण,  संरक्षण हुन छाड्यो रैथाने बाली

गाउँ-गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएकाले स्थानीय जात हट्दै गएका हुन्। पुराना जातका बीउबाट उत्पादन लिन नसकिने तर उन्नत र हाइब्रिड बीउबाट राम्रो उत्पादन हुने कृषकहरु बताउँछन्।

पाल्पा- बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन।

छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत बीउ रोज्न थालेका हुन्। परम्परागतरूपमा लगाउँदै आइएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको रामपुरकी सीता देवकोटा बताउँछिन्।

'व्यावसायिकरूपमा खेती गर्न पुरानो जातका बीउले बढी उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन', उनी भन्छिन्, 'धान, मकै तथा तरकारीको खेतीमा नयाँ जातको बीउ नै लगाउने गरिएको छ।'

उनले विगत एक दशकयता तरकारी, धान, मकै, गहुँबालीमा उन्नत नै बीउ लगाउँदै आएकी छिन्। स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने कृषक देवकोटाको भनाइ छ। किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउबिजन खरिद गरेर लगाउने गरेका छन्। गाउँ-गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएकाले स्थानीय जात हट्दै गएका हुन्।

बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झण्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरे पनि पछिल्लो समय एग्रोभेटले नयाँ-नयाँ जातका बीउबिजन ल्याउन थालेकाले बीउ खरिद गर्न सजिलो भएको अगुवा किसान दिलबहादुर थापा बताउँछन्। उनले करिब दश रोपनी भाडाको जमिनमा तरकारी लगाउँदै आएका छन्। 'जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेलाई स्थानीय जातको बीउ लगाएर हुँदैन, स्थानीय जातमा धेरै रोगकीराले सताउने गर्दछ, बजारमा आएका नयाँ जातका बीउ बेला बेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु, उत्पादन राम्रै दिइरहेको छ', उनी भन्छन्।

स्थानीय जातका बीउ लगाउँदा मेहनत र लगानीअनुसारको उत्पादन लिन नसकिने तर उन्नतले उत्पादन वृद्धि र रोगकीरा पनि कम लाग्ने गरेको कृषक थापाको भनाइ छ। उनले  हरेक वर्ष बिरुवा राख्नु अगावै कृषि प्राविधिकसँग सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आएका छन्। भण्डारण गरिएको गुणस्तरको बीउ पाइएपछि किसान यसतर्फ आकर्षित हुन थालेका हुन्। किसानले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो।

बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बीउ धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्।

उनी भन्छन्, 'रैथाने बाली केही ठाउँमा बीउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले बर्सेनि नयाँ र उन्नत जातका बीउ प्रयोग गर्ने गरेको पाइन्छ, राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बीउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा किसान आकर्षित छन्।'

अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जातका बीउ चलनचल्तीमा छन्। पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुँदै आएको छ। खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन्। खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ। 

थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखेपनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ। छोटो समयमा धेरै उत्पादन लिने उद्देश्यले स्थानीय जातका परम्परागत बीउ लोप हुँदै गएको हो। व्यावसायिक तवरले खेती सुरु गरिएकाले स्थानीय बीउबाट आर्थिक लाभ लिन नसकिने हुँदा मनग्य उत्पादन गर्न उन्नत बाली लगाउने गरिएको सम्बद्ध किसान बताउँछन्। रासस


प्रकाशित : आइतबार, असार १० २०८००७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend