बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कमला किनारमा बाढी पर्खिरहेका माझी

आइतबार, असार १० २०८०
कमला किनारमा बाढी पर्खिरहेका माझी

नदी किनारमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन्। हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको संख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ।

जनकपुरधाम- केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनास बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ। असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ।

नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ। त्यसैले नदी किनारका मानवबस्तीमा बस्नेहरु त्रसित बनेका छन्। नदी किनारमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन्।

हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको संख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ। त्यसैमध्येका एक हुन् - कमला नगरपालिका-५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी। 

उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ। बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाट छेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ।

'के गर्नु वर्षाका दुई/चार महिना त हो डुंगा चलाउन पाउने। यो सानै उमेरदेखि गर्दै आएको काम हो। यही घाटमा डुंगा खियाउँदै जीवन बित्यो। ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो', उनले भने।

कमला-५ का ५२ वर्षीय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ। नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुन्जेल डुंगा खियाउन उनी व्यस्त छन्। यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ।

'देशमा हुँदा नौ/दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ। बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुंगा चलाउनुहुन्थ्यो। त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौँ', सहनीले भने, 'यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो? भासिएको पुल नउठेसम्म त होला!'

वर्षायामका करिब चार महिना डुंगा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उनको भनाइ छ। सहनीका शब्दमा यो रहर नभइ उनको बाध्यता हो। 'पेसा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका छौँ। मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए। रातारात हुने त्यहाँको विकास देखेको छु। यहाँ त पुल नदेखेरै पुस्तौ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ। थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन', सहनीको गुनासो छ।

उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुंगा चलाउन सिक्दै छन्। बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुंगा चलाउन सकिरहेको हरिदेवको कथन छ।

'हाम्रो जात नै डुंगा चलाउने हो। बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु। बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन। के थाहा! यस्तै अवस्था रहे मैले पनि डुंगा चलाएर बस्नुपर्ने हो कि', हरिदेवले पुलतर्फ हेर्दै भने।

स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुंगाको विकल्प नभएको बताउँछन्।  उनले वर्षौदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए।

'मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ। नातेदारहरु नदी पारी धनुषामा बस्छन्। आउजाउ गर्दा डुंगाको विकल्प छैन कि त लामो दुरी पार गरेर जानुपर्छ', मोहम्मद भन्छन्, 'नेताहरु भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौँ लागेर बनाएको पुल एकै बर्सातमा भासिदा पनि कसैले केही गरेनन्। कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन।'

यो पटक अहिलेसम्म पूर्णरुपमा वर्षा सुरु भइसकेको छैन। ढिलोचाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदैछ। नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ। त्यस्तै त्रास छ वर्षौदेखि डुंगा खियाइरहेका माझिहरुलाई पनि।

'केही समय अर्थोपार्जन गरे पनि पुस्तौपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नु परिरहेको छ। तपाईंहरुले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई। बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ। यो रहर नभई बाध्यता हो। पुल नहुनुको बाध्यता!' रासस


प्रकाशित : आइतबार, असार १० २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend