शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

चैतेधानले पायो दोबर मूल्य, किसान उत्साहित

आइतबार, असार १० २०८०
चैतेधानले पायो दोबर मूल्य, किसान उत्साहित

मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार नौ सय हेक्टरमा मात्र चैतेधान र ८३ हजार तीन सय हेक्टरमा बर्खेधान लगाउने गरिएको छ। यसबाट पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक छ।

बेलबारी- गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्।

गत वर्ष मनको पाँच सय ५० देखि छ सय रूपैयाँसम्म मूल्य पाएको चैतेधान यस वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय ५० रूपैयाँसम्ममा कारोबार भइरहेको छ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी-११ का भगिरथ घिमिरेले बताए। 'यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ', उनले भने।

चैतेधान लगाउने कृषकलाई कोशी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा पाँच सय रूपैयाँ दिने निर्णय गरेको छ। तर धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन्। एक बिघा जमिनमा चैतेधान लगाउने गरेका बेलबारी-११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए।

मोरङमा एक लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार नौ सय हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार तीन सय हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए। उनले यसमा पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको जानकारी दिए।

उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ। हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ। रासस


प्रकाशित : आइतबार, असार १० २०८००५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend