बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तीन तेल प्रशोधन उद्योगमा १ अर्ब ६४ करोडको लगानी

शनिबार, असार ९ २०८०
तीन तेल प्रशोधन उद्योगमा १ अर्ब ६४ करोडको लगानी

खाने तेलको निर्यात सुरु भएपछि यो उद्योगमा फेरि व्यवसायीहरूको लहर लागेको छ। तर भारतले तेल आयातको नीतिमा परिवर्तन गर्दा लगानी जोखिममा पर्नसक्ने विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्।

काठमाडौं- खाने तेल निर्यातबाट बढ्दो फाइदाका कारण तेल उद्योगमा लगानी बढ्दो छ। गत आर्थिक वर्षमा मात्रै तेल उद्योगमा अर्बौंको लगानी प्रतिबद्धतासहित एक दर्जनभन्दा बढी उद्योग दर्ता भएका थिए। गत आवमा वार्षिक १० लाख मेट्रिक टनभन्दा बढी तेल उत्पादन गर्ने गरी उद्योग दर्ता भएका थिए।

चालु आवको ११ महिनामा तेल प्रशोधनका लागि तीन उद्योगमा लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार तीन तेल प्रशोधन उद्योगमा पौन २ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार २५ करोडको लगानी प्रतिबद्धतामा रुपन्देहीमा उद्योग स्थापना हुने गरी अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि (तेल) दर्ता भएको छ। उद्योगले वार्षिक ३३ सय केएल सोयाविन तेल तथा २९ हजार ५ सय २० मेट्रिक टन डि वाइल केक उत्पादन गर्ने लक्ष्य लिएको छ।

यसैगरी ४७ करोड ४० लाख रूपैयाँको लगानीमा पर्सामा नमस्ते आयल एण्ड रिफाईनरी इण्डष्ट्रिज सञ्चालन हुने गरी दर्ता भएको छ। उद्योगले वार्षिक १ लाख ५ हजार मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।

पर्साको वीरगञ्जमा पनि तेल उत्पादनकै लागि हिमालयन सोलभेन्ट्स प्रालि कम्पनी दर्ता भएको छ। यो उद्योगमा ९२ करोड रूपैयाँ लगानी प्रतिबद्धता भएको छ। उद्योगमा १ सय ९८ जनालाई रोजगारी दिइने दर्ता विवरणमा उल्लेख छ।

तेस्रो मुलुकबाट अप्रशोधित तेलको आयात गरी नेपालमा प्रशोधन गरेर व्यवसायीहरूले भारत निर्यात गर्दै आएका छन्। गत वर्ष भारतले पाम तेलको आयातमा रोक लगाएको थियो। पाममा प्रतिबन्ध लागेपछि व्यवसायीले भटमासको तेल निर्यात गर्न सुरु गरेका थिए।

खाने तेलको निर्यात सुरु भएपछि यो उद्योगमा फेरि व्यवसायीहरूको लहर लागेको छ। तर भारतले तेल आयातको नीतिमा परिवर्तन गर्दा लगानी जोखिममा पर्नसक्ने विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्।

‘तेल निर्यात र यहाँको लहड देख्दा जोखिम देखिन्छ। किनभने भारतले कहिले के निर्णय गर्छ पत्तो हुँदैन। व्यक्तिगत जोखिमको कुरामात्र होइन कोही डुब्दा बैंकको लगानी पनि जोखिममा पर्न सक्छ’, एक व्यवसायीले भने’ आन्तरिक बजारको खपतलाई धान्ने क्षमता यसअघि नै छ। अझै उद्योग थपिँदा घरेलु मागभन्दा धेरै हुन्छ। यसो हुँदा नाफा त हुँदैन। त्यस्तोमा कोही न कोही डुब्ने त जोखिमा पर्छ।’


प्रकाशित : शनिबार, असार ९ २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend