बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शून्य लागतमा नेपाली नर्स बेलायत जाने बाटो खुल्यो, को-को जान पाउँछन्? के हुन्छ प्रक्रिया?

बुधबार, असार ६ २०८०
शून्य लागतमा नेपाली नर्स बेलायत जाने बाटो खुल्यो, को-को जान पाउँछन्? के हुन्छ प्रक्रिया?

सरकारको यो निर्णयसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ।  रोजगारीका लागि बेलायत जाने श्रमिकले प्रक्रियाका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्।

काठमाडौं- सरकारले बेलायतसँगको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेका मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको उक्त कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। 

सरकारको यो निर्णयसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ। गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता गरेको थियो। गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले प्रक्रियाका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्। पहिलो चरणमा दुई हजार नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको छ।

दुई देशबीच भएको समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ। नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) अनुसार हुनेगरी द्विपक्षीय सहमति भएको छ।

वैदेशिक रोजगार विभाग र बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागबीच आवश्यक समन्वयबाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ। भर्ना प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दुवै देशका सरकारी निकायको सहभागितामा कार्यान्वयन प्रोटोकल तय गरिने समझदारी बनेको छ। बेलायत रोजगारीका लागि आवश्यक योग्यता पुगेका व्यक्तिले अनलाइमार्फत वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन्।

समझदारीले जनशक्तिको भर्नाका लागि तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको छ। स्वास्थ्य जनशक्तिको भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुने छैन। रोजगारीका लागि बेलायत जान चाहनेले सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुपर्नेछ। 

तोकिएको योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन्। बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ। रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानीबाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्ष बीचको हुनुपर्नेछ। त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ।

स्टाफ नर्सका रुपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ। नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।

अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ।अङ्ग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ। छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन्। 


प्रकाशित : बुधबार, असार ६ २०८०१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend