आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

नारायणगढ-मुग्लिन सडकखण्ड : विस्फोटक पदार्थ ल्याउन नसक्दा बन्न सकेन पुल

images
आइतबार, असार ३ २०८०
images
images
नारायणगढ-मुग्लिन सडकखण्ड : विस्फोटक पदार्थ ल्याउन नसक्दा बन्न सकेन पुल

नारायणगढ-मुग्लिन सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ। सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो।

images
images
images

भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदुतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ।

images
images

नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार एक महिनाअघि नै अनुमतिका लागि फाइल दुतावास पुगेको भए पनि अनुमति पाइएको छैन। उनले भने, 'भारत वा अन्य देशबाट विस्फोटक पदार्थ ल्याउन नो अब्जेक्सन लेटर भारतले दिनुपर्ने भएकाले फाइल दुतावास पुगेको छ।'

images
images
images

सो सडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि दुईपट्टी रहेका अग्ला पहाड काट्नुपर्ने बाध्यता थियो। योसँगै अन्य तीन वटा पुलको दुईतर्फका पहाड भत्काउने काम अघि बढाइएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड भने भत्काउन कठिन भएपछि काम रोकिएको प्रमुख कार्कीले बताए।

सडकमा सवारीसाधन बन्द गरेर लामो समय काम गर्न कठिन भएकाले सो ठाउँको पहाड विस्फोट गराउने निर्णय गरिएको थियो। उनले भने, 'बर्सातअघि अब विस्फोट गर्न सम्भव छैन। अनुमति लिएर असोजपछि काम गर्ने योजनामा छौंँ।'

सो सडकमा रहेका १९ पुलमध्ये चारवटा यसअघि नै निर्माण गरिएका थिए। ठेक्का लगाइएका १५ पुलमध्ये १४ वटा निर्माणाधीन छन्। तीमध्ये तीन वटा असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। अन्य आठ वटा पुल असोजभित्रमा र तीन वटा मंसिरभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

तुइन खोलाको पुल भने भित्तो विस्फोट गराएपछि मात्रै काम सुरु गर्न सकिने भएको छ। काम थालेको चार-पाँच महिनामा सो पुल पनि निर्माण गर्न सकिने प्रमुख कार्कीले बताए। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो थियो। डाँडाको आधा भाग काटिएको छ भने बाँकी कडा भाग विस्फोट गर्नुपर्ने भएको छ।

आयोजनाका सूचना अधिकारी ई. कृष्ण आचार्यका अनुसार विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ। सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि समय एक वर्ष थप गरिएको हो। सो सडकका पुल अनक कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। ती पुल निर्माणको लागत एक अर्ब २२ करोड रूपैयाँ हाराहारी छ।

सो सडकमा यस अघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्। पछिल्लो समय सडक फराकिलो बनाएसँगै पुल साँघुरा भएपछि निर्माण थालिएको हो। रासस


प्रकाशित : आइतबार, असार ३ २०८००९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend