आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कमलाको दु:ख : तीन मिनेटको बाटो डेढ घण्टा

images
शनिबार, असार २ २०८०
images
images
कमलाको दु:ख : तीन मिनेटको बाटो डेढ घण्टा

हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो। स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ।

images
images

लहान- शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए। केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो। त्यस्तै हतारमा थिए रामदेव महतो पनि।  

images
images
images

हतार गरेर के गर्नु, उनीहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा-सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदि छेउमा पुगेर रोकिनु थियो। जसरी केही समयअघिदेखि सिरहा नगरपालिका-७ का कपिलदेव यादव पछुताउँदै रोकिरहेका थिए। 'छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो। पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो। अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु', यादवले मलिन मुद्रामा भने।

images
images

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि। 'साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ', उनले भने, 'यस्तो हविगत होला भन्ने के थाहा १ फसादमा परियो। अब कुन बाटो भएर जाने थाहा नै छैन।'

images
images
images

यतिबेलै आइपुगे धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा। वर्षौंदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाए। ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुंगा चढेर पुलपारी पुग्ने।

'के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो। धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ। यस्तो दुःख वर्षायामभरि भोग्नुपर्छ', उनले भने। उनले तीन मिनेटको दुरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताए।

हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो। स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ। यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुंगाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिए।

'अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन। खै, कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो?', उनले भने।

निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ। निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिए।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो। निर्माण कम्पनिले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माण अनिश्चित भयो।

यही अनिश्चितताबीच गत फागुन १५ मा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिएका थिए। 'जनताले निकै सास्ती भोग्नुपरेको छ। यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्‍याएर तत्काल काम गर्न निर्देशन दिन्छु', उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए। यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरुपमा ठप्प भएको छ। रासस


प्रकाशित : शनिबार, असार २ २०८००६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend