काठमाडौं- सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो।
निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले राजीनामा दिएपछि सरकारले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो।
तीन महिनापछि अवकाशमा जाने वैरागीले अहिले नै राजीनामा दिएका हुन् भने २ दिनपछि अवकाशमा जाने वरिष्ठतम सचिव अर्याल मुख्यसचिव बनेका हुन्।
अर्थ प्रशासनका क्याडर मानिने अर्याल सचिव भएपछि भने अर्थ मन्त्रालय छिर्न पाएका थिएनन्।
सहसचिव हुँदा अर्थ मन्त्रालयका महत्त्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको प्रमुख भएका उनी विशिष्ठ श्रेणीको अधिकृतको रूपमा भने अर्थ मन्त्रालय प्रवेश पाएका थिएनन्। सचिव भएपछि उनी प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग वाणिज्य तथा आपूर्ति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव भएका थिए।
पछिल्लो दुई महिनादेखि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव थिए।