आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

लम्पी स्किनको प्रकोप बढ्दो, पाँच महिनामा साढे नौ हजार पशु मरे 

images
बुधबार, जेठ ३१ २०८०
images
images
लम्पी स्किनको प्रकोप बढ्दो, पाँच महिनामा साढे नौ हजार पशु मरे 

लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग हो। यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ।

images
images

काठमाडौं- गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ।

images
images
images

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन्। यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु संक्रमित भएका छन्। हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ।

images
images

यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ। यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा संक्रमित पशुको संख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ। साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ।

images
images
images

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग हो। यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ।

यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक संख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ। यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उनले बताए।

लम्पी स्किन रोग लागेपछि देखिने असर

यो रोग संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ। यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठोहरू देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लंगडोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन्।

देशभर महामारीका रूपमा फैलिरहेको लम्पी स्किन रोगबाट संक्रमित तथा मृत्यु भएको पशुहरूको विवरण, यस रोगको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सेवा विभागले सबै प्रदेशका पशुपक्षी हेर्ने मन्त्रालय, निर्देशनालय, भेटेरिनरी अस्पाताल, तालिम केन्द्र तथा पालिकाहरूसँग छलफल गरिरहेको वरिष्ठ पशुचिकित्सक डा उपाध्यायले जानकारी दिए।

यस रोगको प्रकोपबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा चार हजार सात सय ७५ पशु मरेका छन् भने त्यसपछि सुदूरपश्चिममा दुई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बागमतीमा दुई सय ८१, लुम्बिनीमा एक सय १०, मधेस प्रदेशमा ३५ पशु मरेको विभागको तथ्यांक छ। संक्रमित पशुहरूमा औषधि र शक्तिबर्द्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ।

विभागले यो रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्त मात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठ वरिपरि सफा राख्नेलगायतका सुझाव दिएको छ।  

नेपालमा कहिले भित्रियो यो रोग?

नेपालमा विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका-११ का गाईहरूमा लम्पी स्किन रोगका लक्षणहरू पहिलो पटक देखा परेको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ।

लक्षण देखा परेपश्चात् उक्त गाईहरूबाट नमूना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर विधिबाट परीक्षण गर्दा २०७७ साल साउन ११ गते लम्पी स्किन रोग पुष्टि भएको प्रयोगशाला प्रतिवेदन प्राप्त भएको थियो। यसरी रोग पुष्टि भएपछि सो रोगको सूचना विश्व पशु स्वास्थ्य संगठनमा पशु स्वास्थ्य सूचना प्रणालीमार्फत गरेको थियो। 

यस लगत्तै गत असार महिनामा नै चितवनको राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका र मकवानपुरको हेटौँडा नगरपालिमा यो रोग देखिई धेरै जिल्लाहरूमा फैलिएको थियो।

यो रोग मुख्यगरी सब सहारन अफ्रिका, मध्यपूर्व र टर्कीमा महामारीकै रूपमा देखिने गरेको र एसियामा सन् १९८९ मा इजरायलमा यो रोग देखिएको थियो। यो रोग पछिल्लो समयमा सन् २०१९ पछि दक्षिण र पूर्वी एसियाका देश जस्तै बंगलादेश, भारत, चीन, चीन ताइपेई र भियतनाममा देखा परिसकेको अवस्था छ। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend