शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खडेरीले बाँकेमा धानको बीउ राख्न समस्या

सोमबार, जेठ २९ २०८०
खडेरीले बाँकेमा धानको बीउ राख्न समस्या

बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

बाँके- बाँकेमा खडेरीले खेतबारी सुख्खा भएपछि किसानलाई धानको बीउ राख्नै समस्या भएको छ। जेठ अन्त्यसम्म पनि वर्षा नभएकाले धान रोपाइँका लागि किसानले बीउ राख्न नपाएका हुन्। आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यो वर्ष धानको बीउ राख्नै समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताए।

सिँचाइको व्यवस्था नभएकाले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो। 'धान खेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ', उनको गुनासो थियो।

बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीका राखिएको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ। नेपालगञ्ज, खजुरा, जानकी, वैजनाथलगायत क्षेत्रमा किसानले मोटरबाट तानेर वा खोनपानी नै प्रयोग गरेर बीउ राखेका छन्। जसोतसो बीउ राखे पनि बर्सात नभएका कारण बीउ जोगाउन मुस्किल परेको जानकी गाउँपालिका-५ बेलहरीका किसान रामसुरत यादवको भनाइ थियो।

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन्।

धानको बीउ राख्ने समयलाई मध्यनजर गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमितरुपमा पानी छोडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी विशाल यादवले जानकारी दिए। कृषि ज्ञानकेन्द्रका प्रमुख शकील अहमदले यो वर्ष वर्षा नभएका कारण जिल्लामा धानको बीउ राख्नै किसानलाई कठिनाइ भएको बताए।

जिल्लामा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend