झापा- झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए।
उक्त रकमबाट करिब एक सय घर निर्माण गर्न सकिने उनले बताए। प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागितासमेत गरी घर निर्माण गर्ने योजना रहेको उनले बताए। 'कम लागतमा स्तरीय घर निर्माणका लागि नापनक्सा, स्टिमेट तयार गर्छौँ', उनले भने।
भद्रपुर नगर क्षेत्रमा ६ सय ३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको नगरप्रमुख गणेश पोखरेलले बताए। उनले एक महिला, आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताका आधारमा घर निर्माण गरिने बताए।
नगरपालिकाले चालु आवमा नगरमा रहेका सबै आदिवासी सन्थाल समुदायको निःशुल्क स्वास्थ्य बीमासमेत गरिदिएको छ। विपन्न र आर्थिक अवस्था कमजोर भएका समुदायको जीवनस्तर उकास्न नगरपालिकाले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ। रासस