काठमाडौं- पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले लिएको कर नीति उल्टो बाटोतिर रहेको बताएका छन्।
आगामी वर्षको बजेट तथा आर्थिक विधेयकमाथिको छलफलमा बोल्दै पौडेलले इन्ट्री लेभलका विद्युतीय कारको कर बढाउनु गलत भएको बताए। धेरै खपत हुने विद्युतीय सवारीलाई अहिलेका लागि प्रबर्द्धन गरेर पेट्रोलियम पदार्थको खपत घटाउने नीतिमा जानुपर्नेमा सरकार कर बढाएर उल्टो बाटोमा गएको उनले बताए।
सरकारले ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय कारमा कर बढाइदिएको छ। यो नीति गलत रहेको उनले बताए।
त्यस्तै पौडेलले सरकारले महंगा विद्युतीय कारको कर घटाउनु अझ शंकास्पद भएको बताए। बजारमा सीमित उच्च आय वर्गकाले उपयोग गर्ने उच्च क्षमताका विद्युतीय कारको कर घटाइएको भन्दै यसमा शंकास्पद रहेको उनले बताए।
उच्च क्षमताका मोटरसाइकलको कर घट्नु पनि स्वभाविक नरहेको उनले बताए।
सरकारले उच्च क्षमताका मोटरसाइकलको कर घटाएको छ। निश्चित समूहका नाममा सरकारले करका माध्यमबाट काम गरिरहेको उनले बताए।