शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

घोगा लाग्ने बेला खडेरीले खेतमै सुके मकै 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २८ २०८०
घोगा लाग्ने बेला खडेरीले खेतमै सुके मकै 

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्।

भरतपुर- खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्।

भरतपुर महानगरपालिका-८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, 'घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो। मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो।'

भरतपुर महानगरपालिका-११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन्। सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी छिन्। सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छिन्।

सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ। पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, 'मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु। चाख्नसमेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।'

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन्। उनले भने, 'सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ।'

उनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए। उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ। उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ। मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन्। चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ। माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ। यो मकै जेठ-असारमा पाक्छ। बैशाख-जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ। यसलाई वर्षे मकै भनिन्छ।

चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ। यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ। यो मकै फागुन-चैतमा पाक्छ। चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ। रासस


प्रकाशित : आइतबार, जेठ २८ २०८००४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend