आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक

images
शनिबार, जेठ २७ २०८०
images
images
पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक

निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा पुग्ने नेता त्यसपछि फर्केर जाँदैनन्।

images
images

गलकोट- बागलुङ नगरपालिका-८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो। दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन्।

images
images
images

निर्वाचनको समयमा खानेपानीको आश्वासन बाँड्न दलित बस्तीमा पुग्ने नेता त्यसपछि फर्केर जाँदैनन्। देशमा संघीयता आएसँगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले सात वर्षसम्म पानी ल्याउन नसकेको गुनासो गरेका छन्।

images
images

बागलुङ-८ सिगाना लामाचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम संकट भए पनि हालसम्म उक्त संकट टार्न सकिएको छैन। निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन। चुनावमा भोट बैंकका रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत जित्दै आए पनि चुनावताको समयमा गरिएको खानेपानी पुर्‍याउने वाचा भने अझै पूरा हुन सकेको छैन।

images
images
images

सो नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशकभन्दा बढी समय बित्दासमेत पूरा हुन नसकेको हो। खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुल जस्तै बन्दै आएको स्थानीय विष्णु परियारले बताए।

'चुनावमा मात्रै नेता खानेपानीको सपना बोकेरे आउँछन्, अहिलेसम्म धारा बन्न सकेन, पहिलाका सांसद र नगरप्रमुखले लिफ्ट आयोजना थाले अहिलेकाले अर्को खानेपानी योजना ल्याएका छन् रे तर जसले जे लिए पनि अहिलेसम्म पानी आउन सकेन', परियारले भने, 'खानेपानी गाउँमै एउटा धारामा आउँछ भने अर्को बस्ती मुनिको मुलबाट ल्याउँछौँ, बिहान खानेपानी बोक्दै बित्छ, यस्तो दुर्दशा कहिलेसम्म रहला कुन्नी?'

उक्त गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन्। विसं २०५० भन्दाअघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ। दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा छन्। त्यसमध्ये एउटा धारामा मात्रै पानी आउने गरेको स्थानीय विष्णु परियारले जानकारी दिए।

रेशको बौरमुनिबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ भने उपल्लो लामीचौरमा पानीको सदुपयोग नहुँदा दलित बस्तीमा खानेपानी पुग्न नसकेको हो। करिब २० वर्षदेखि खानेपानीका विषयमा दलित बस्ती च्यापिएको र थिचिएको महसुस भएको स्थानीय तथा पत्रकार सज्जनकुमार सिंह विश्वकर्माले बताए। विभिन्न गाउँमा एक घर एक धारा बनिसक्दा यहाँ अत्तोपत्तो छैन।

'हामी जस्तो सचेत नागरिकले सरोकारवाला निकायलाई गुनासो सुनाउँदा सुनाउँदै वाक्क भइसकेका छौँ, अन्य दलित समुदायको कुरा कसले सुन्ने, अब आन्दोलित हुनुको विकल्प छैन', विश्वकर्माले भने, 'दलित बस्तीमा पानी ल्याउन लिफ्ट आयोजना सञ्चालन भए पनि बजेट अभावमा ढिलाइ भएको छ, अहिले बागलुङ नगरपालिकाले नयाँ योजना ल्याएको छ, तर कहिले पानी आउँछ टुंगो छैन।' 

खानेपानीलाई राजनीतिक मुद्दा बनाउँदा दलित बस्तीले वर्षौंदेखि यो नियती भोग्दै आएको विकको भनाइ छ। विसं २०७७ माघदेखि दलित बस्तीमुनि काठखोला गाउँपालिका-७ खानदुलोमा रहेको मुहानबाट लिफ्टमार्फत पानी पुर्‍याउने गरी आयोजना सुरु भए पनि बजेट थोरै निकासा हुँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको लामीचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष पूर्णबहादुर कार्कीले बताए।

वर्षमा १० लाख रूपैयाँ बजेट आउँदा यो खानेपानी आयोजना सक्न अझै चार वर्ष लाग्ने कार्कीको भनाइ छ। कार्कीका अनुसार लिफ्ट आयोजनाका लागि खानदुलो र लामीचौरमा खानेपानी ट्यांकी निर्माण भइसकेको छ। अब मोटर तथा पाइपलाइन र घरघरमा धारा विस्तारको काम बाँकी रहेको उनले बताए।

खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको भए पनि अहिलेका निर्वाचित जनप्रतिनिधिले सो लिफ्ट आयोजनालाई प्राथमिकता नदिएर ७० लाख रूपैयाँ बजेटमा नयाँ आयोजना निर्माण गर्न थालिएको छ। लिफ्ट आयोजनालाई सक्नेमा नगरपालिकाको ध्यान नदिएर अर्को आयोजना ल्याउनु समन्वयको अभाव भएको स्थानीयको गुनासो छ। प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसकेर २०७७ सालदेखि सुस्त गतीमा लिफ्ट आयोजना निर्माणको काम चलिरहेको छ।

लिफ्ट आयोजनालाई सम्पन्न नहुञ्जेल क्रमशः बजेट व्यवस्थापन भइरहने र आगामी दिनमा बजेट बढाउन पहल भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तुल्सी बस्नेतले जानकारी दिए। प्रदेश सरकारलाई दलित बस्तीको खानेपानीका विषयमा जानकारी दिएर बजेट बढाउन आग्रह गर्ने उनले बताए। रासस 


प्रकाशित : शनिबार, जेठ २७ २०८००६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend