आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बर्खायाममा मुख्य सडक सञ्चालन गर्न सडक हेरालु

images
बिहीबार , जेठ २५ २०८०
images
images
बर्खायाममा मुख्य सडक सञ्चालन गर्न सडक हेरालु

सडकमा आउने भल तथा पहिरो व्यवस्थापन गरी सडक मर्मत सम्भार गर्न सुलिकोट गाउँपालिकाले १७ जना सडक हेरालु नियुक्त गरेको हो।

images
images

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा पालिकाभित्रका मुख्य-मुख्य सडक नियमित सञ्चालन गर्नका लागि सडक हेरालु नियुक्त गरेको छ। जिल्लाका एघार पालिकामध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिकाभित्रका सडकको हेरचाहका लागि सडक हेरालु राखेको हो।

images
images
images

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा स-साना पहिरो समयमा व्यवस्थापन गर्न नसक्दा आवागमनमा समस्या उत्पन्न हुने र सडकमा बढी क्षति पुग्ने भएकाले सोको सही व्यवस्थापनका लागि सडक हेरालु नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। सडकमा आउने भल तथा पहिरो व्यवस्थापन गरी सडक मर्मत सम्भार गर्न पालिकाले १७ जना सडक हेरालु नियुक्त गरेको उनले जानकारी दिए।

images
images

'सानातिना भल, पानी र बाढीपहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा धेरै क्षति हुने गरेको छ', अध्यक्ष भट्टले भने, 'यसले विकासमा थप भार पार्नुका साथै लामो समयसम्म सडक अवरुद्ध हुँदा आवागमनमा समस्या हुने भएकाले यस वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रने वित्तिकै मर्मत गर्ने गरी सडक हेरालु राखेका हौँ।'

images
images
images

मुख्य सडक मर्मतसम्भार तथा हेरचाह गर्न गाउँपालिकाले आगामी पाँच महिनासम्मका लागि सडक हेरालु नियुक्त गरेको अध्यक्ष भट्टले बताए। नियुक्त गरिएका सबैलाई गाउँपालिकाले अभिमुखीकरण तालिम प्रदान गरी नियुक्तपत्र दिएर काममा खटाइएको उनको भनाइ थियो।

'सडक हेरालुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ टेपलगायत आवश्यक सामग्री उपलब्ध गराएका छौँ', अध्यक्ष भट्टले भने, 'यस बाहेक सडक हेरालुको सुरक्षाका लागि  आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पञ्जालगायत सामग्री पनि हस्तान्तरण गरेका छौँ।'

पालिकाले नियुक्त गरेका सबै सडक हेरालुले पालिकाअन्तर्गत रहेका नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी-झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका कार्य गर्ने उनले बताए।

पालिकाभित्रका सबै मुख्य सडकसमेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागेसँगै भल तथा बाढीले सडकमा क्षति पुग्ने र बर्खाभरी नै अवरुद्ध हुने हुँदा आउजाउमा नागरिकले हैरानी खेप्दै आउनु परेको थियो। रासस 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend