शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कुश्मामा बाँदरबाट बाली जोगाउन कठिन, दिनभर मकैबारी रूँग्दै वडाध्यक्ष

बिहीबार , जेठ २५ २०८०
कुश्मामा बाँदरबाट बाली जोगाउन कठिन, दिनभर मकैबारी रूँग्दै वडाध्यक्ष

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ। यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ। मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन्।

पर्वत- पर्वतको कुश्मामा बाँदरबाट बाली जोगाउन कठिन भएको छ। यहाँका किसान खेतबारी रुँगेर बस्नुपर्ने अवस्था छ।

कुश्मा नगपालिका-९ वडाध्यक्ष समेत बाँधर धपाउन आलोपालोमा खटिएका छन्। वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन्। उनी सो दिन खेतबारी रुँगेर बस्छन्। बाँदर धपाउन खटिन्छन्।

लामिछाने मात्र हैन कुश्मा नगपालिका-९ का १५ परिवारको एउटै फाँट रहेको छ। ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन्। वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए।

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ। आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउँछन्।

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ। यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ। मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन्। बाँदर आतंक बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन्। कुश्मा नगरपालिका-९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए।

'अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ', उनले भने, 'यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ।'

उक्त क्षेत्रमा बाँदर आतंक नयाँ भने होइन। विगत  वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताए। 'यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ', उनले भने, 'बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ।'

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ। पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि संकेत गर्ने गरिन्छ। 'हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ। सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ, र बाँदर आयो भने त्यहाँबाट संकेत गरिन्छ, संकेत पाउँदा बित्तिकै सानो झुन्ड रैछ भने आफै धपाउँछन्, ठूलै झुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ', वडाध्यक्ष लामिछानेले भने, '७० घरको खेती यसरी नै जोगाउँछौँ।'

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताए। 'बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर, भागेन', उनले भने, 'अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ।' रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend