शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

म्याग्दीका तरकारी र फलफूल खेतीमा रोगको प्रकोप, किसान चिन्तित

बुधबार, जेठ २४ २०८०
म्याग्दीका तरकारी र फलफूल खेतीमा रोगको प्रकोप, किसान चिन्तित

फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ।

गलेश्वर- खडेरीका कारण धानको बीउ राख्न र मकै गोडमेल गर्न नपाएका म्याग्दीका किसानले लगाएको खेती र फलफूलमा रोग र कीराको प्रकोप देखिएपछि चिन्तित बनेका छन्। 

किसानले लगाएको फलफूलमा औंसा, केरामा खपटे गवाँरो र मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ। फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारीभरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायत बालीमा औंसा रोग लाग्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्। मकैमा फैजी कीरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएको कृषक चन्द्रबहादुर कार्कीले बताए।

'प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औंसा कीराको संक्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन्', उनले भने। कार्कीका अनुसार किसानले लगाएको काँक्रा र पाकेका आरु, आरुपखडामा पनि औंसा कीराको व्यापक संक्रमण भेटिएको छ। उनले मकैबालीमा अमेरिकन फौजी कीरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको बताए।

कीरा र रोगको संक्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेत गराइएको कृषि प्राविधिकहरुले बताएका छन्। कृषि ज्ञान केन्द्र म्याग्दीले सिफारिस गरेका मकैको जातका आधारमा सोही अनुसारको उपचार विधि र विषादी उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ।

गोलभेँडामा लागेको ढुसी र डढुवाका कारण व्यावसायिक किसान मर्कामा परेको बाबियाचौरका हरिकृष्ण पौडलले बताए। 'जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्‍याएको छ', उनले भने। जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप बढेको हो।

घोगा हाल्न लागेका मकैका बोटमा फौजी कीराको आक्रमण बढे्काले बोट नै सक्न थालेको मंगलाका किसान टेकबहादुर विकले बताए। उनका अनुसार विषादीले समेत फौजी कीराको आक्रमण रोकिन सकेको छैन। 

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौरलगायत स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी कीराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र कीराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी ब्यहोर्न परेको बताए।

फौजी कीराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताए। ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी कीराको आक्रमण बढेर बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ।

प्रायः सुक्खा मौसममा देखिने फौजी कीरा पछिल्लो समय वर्षा भइरहँदा पनि बढेको कृषि प्राविधिक बानियाँले बताए। 'फौजी कीराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पुर्‍याउने गर्छ', उनले भने।

यसैगरी, जिल्लामा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन्। केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोटहरु सुक्न थालेका छन्।

बेनी नगरपालिका-२ बगरफाँट, खबराका साथै मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिनुका साथै औषधि प्रयोग गर्दा पनि रोग कम नभई रातो कमिला देखिन थालेकोे बगरफाँटका कृषक खिमबहादुर कार्कीले बताए।

बगरफाँटका कृषक बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा संकटमा परेको बताए। 'यहाँको सिंगो गाउँका कृषक केरा खेतीमा संलग्न छन्। सुरुवातमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्‍याएको छ', उनले भने।

करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गरेका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए। हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रूपैयाँ आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए।

'झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो मर्छ र विस्तारै बोट मर्दै जान्छ', कृषक थापाले भने। उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कंदै आएको उनको भनाइ थियो। 

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केरा खेती गर्दै आएका खबराका अर्का कृषक शोभित शर्माले बताए। 'लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थालेको छ,' उनले भने। 

धान फल्ने खेतमा केरा खेती गरेका यहाँका किसानहरु धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन्। उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन्। रासस 


प्रकाशित : बुधबार, जेठ २४ २०८०१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend