शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कृषि कर्जामध्ये लगानीको आकर्षण पशुपालनमा, खेतीपातीमा कम

आइतबार, जेठ १४ २०८०
कृषि कर्जामध्ये लगानीको आकर्षण पशुपालनमा, खेतीपातीमा कम

२०७९ फागुनसम्म कृषि सहकारी संस्थाको वचत, सेयर तथा जगेडा कोष अन्तर्गत लगानीमा रहेको कृषि कर्जा ८८ अर्ब ७९ करोड रहेको छ।

काठमाडौं- कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनका क्षेत्रमा आकर्षण देखिएको छ भने खेतीपातीमा आकर्षण कम रहेको छ। २०७९ फागुनसम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट ४ खर्ब ११ अर्ब २७ करोड बराबरको खुद कृषि कर्जा प्रवाह भएको छ।

प्रवाहित कर्जामध्ये कृषि तथा कृषिजन्य सेवामा सबैभन्दा बढी ३८.७ प्रतिशत कर्जा प्रवाह भएको छ। त्यसमा पशुपालन र पशुपालनसम्बन्धी सेवामा ३७.२ प्रतिशत, खेतीपातीसम्बन्धी सेवामा २१.९ प्रतिशत र अन्यमा २.१ प्रतिशत कर्जा प्रवाह भएको छ।

यस्तै बागमती प्रदेशमा उत्पादन तथा रोजगारीका लागि कृषिमा १ अर्ब ६२ करोड रूपैयाँ लगानी गरिएको छ।

आर्थिक सर्वेक्षणअनुसार बागमती प्रदेश सरकारको सहकार्यमा आर्थिक वर्ष २०७७/७८ देखि उत्पादन तथा रोजगारी सिर्जनाको लागि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमार्फत सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालनमा रहेको छ। २०७८ फागुनसम्म सोही कार्यक्रमतर्फ १ अर्ब ७ करोड लगानी भएकोमा २०७९ फागुनसम्म यस्तो लगानी १ अर्ब ६२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्थाबाहेक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट समेत हुम्ला बाहेकका ७६ जिल्लामा साना किसान विकास लघुवित्त वित्तीय संस्थामा आवद्ध १,३३७ कृषि सहकारी संस्था र साना किसान सहकारी अनुसरण भइरहेका १२९ कृषि सहकारी संस्थामार्फत पशुपालन, तरकारी खेती तथा ग्रामीण उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कृषि कर्जा प्रवाह हुँदै आइरहेको छ।

साथै कृषि सहकारी संस्थाबाट समेत आफ्नै कोषबाट कृषि क्षेत्रमा कर्जा लगानी हुँदै आइरहेको छ। २०७९ फागुनसम्म साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट कृषि सहकारी संस्थामार्फत लगानीमा रहेको कृषि कर्जा ३२ अर्ब ८ करोड रहेको छ।

त्यसैगरी २०७९ फागुनसम्म कृषि सहकारी संस्थाको वचत, सेयर तथा जगेडा कोष अन्तर्गत लगानीमा रहेको कृषि कर्जा ८८ अर्ब ७९ करोड रहेको छ।


प्रकाशित : आइतबार, जेठ १४ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend