शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १० २०८०
कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ। यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन्। 

कैलाली- कैलालीमा रासायनिक मल  अभाव हुने भएको छ। हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरुलाई चिन्ता छ। 

कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ। सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ। यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए। 

'किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्', उनले भने, 'मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ।'

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताए। 'पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ', उनले भने, 'थप मल भैरहवा नाकामा आयात गरिए  वितरण गर्न सकिन्थ्यो।'

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ। कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ। माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ। यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन्। 

किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित गर्ने गरेको बताए। 'खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो। हामी सधैँ अभाव झेलिरहन्छौँ', उनी भन्छन्, 'अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ। समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ।' 

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउँछन्। 'हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ', उनी भन्छन्, 'नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ। हामीले खेती कसरी गर्नु?' रासस


प्रकाशित : बुधबार, जेठ १० २०८००४:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend