शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

एक करोड रूपैयाँभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

सोमबार, जेठ ८ २०८०
एक करोड रूपैयाँभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

बागवानी केन्द्रमा ६ हजार आँप र छ सय २१ लिचीका बोट छन्। यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन्। 

सर्लाही- सर्लाही लालबन्दी नगरपालिका-१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष एक करोड ११ लाख ६० हजार रूपैयाँमा आँप ठेक्का लगाएको छ।

केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए। करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा ६ हजार आँप र छ सय २१ लिचीका बोट छन्। यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन्। 

बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन्। 

साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन्।

यस वर्षका लागि लिची १२ लाख १८ हजार रूपैयाँमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए। ‘केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ’, उनले भने 

यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब २४ लाख रूपैयाँ खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ। जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend