शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान

सोमबार, जेठ ८ २०८०
व्यावसायिक च्याउ खेतीले फेरियो रामनाथको पहिचान

सामान्य लेखपढ गर्न मात्र जानेका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रुपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौंसम्म पुर्‍याएर राम्रो आम्दानी गर्दै आएको बताउँछन्।

वीरगञ्ज- केही वर्षअघिसम्म ‘मिस्त्री’ काम गर्दै आएका वीरगञ्ज महानगरपालिका २५ सिर्सिया निवासी रामनाथ पासवानको पहिचान यतिबेला  फेरिएको छ। 

बस्ती नजिकै करिब आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्न सुरु गरेका ५० वर्षीय उनी अहिले जिल्लामा च्याउ उत्पादक किसानको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन्। कुनै बेला राजमिस्त्री रामनाथ भनेर चिनिने उनलाई अहिले च्याउवाला रामनाथको रुपमा स्थानीयले सम्झिने गरेका छन्।

स्थानीय साहुसँग पाँच वर्षका लागि भाडामा लिएको सात कट्ठा जग्गा र आफ्नो एक कट्ठामा गरी आठ कट्ठा क्षेत्रफलमा व्यावसायिक च्याउ खेती गर्दै आएका पासवानलाई अहिले कतिबेला च्याउ टिपेर बजारसम्म पुर्‍याउने भन्ने हतारो हुन्छ।

सामान्य लेखपढ गर्न मात्र जानेका पासवान अहिले सिर्सिया कृषि फर्म दर्ता गराई व्यावसायिक रुपमा च्याउ उत्पादन गरी व्यापारीमार्फत वीरगञ्जसहित काठमाडौंसम्म पुर्‍याएर राम्रो आम्दानी गर्दै आएको बताउँछन्। 'पहिला चर्काे घाममा उभिएर काम गर्नुपर्दा धेरै स्वास्थ्य समस्या हुन्थ्यो', उनले भने, 'त्यही भएर राजमिस्त्रीको काम छाडेर व्यवसायी गर्छु भनेर सोचे र च्याउ खेती सुरु गरे।' थोरै मेहनत र कम समयमा राम्रो आम्दानी हुने भएकाले च्याउ खेतीलाई आफूले व्यावसायिक रुपमा अघि बढाएको उनको भनाइ छ।

'सुरु सुरुमा च्याउ खेतीबारे खासै कुनै जानकारी थिएन, त्यसैले के गर्ने नगर्ने अन्यौलतामा थिए', किसान पासवान भन्छन्, 'पछि युट्युव च्यानलबाट हेरेर यहीबाट सिक्दै च्याउ खेती सुरु गरे, अहिले यसबारे पूरा सिकिसके।' कृषि ज्ञान केन्द्र पर्साका प्राविधिकले पनि समय समयमा यसबारे परामर्श दिइरहेका छन्। 

स्थानीय कच्चा पदार्थ (सोतर)को प्रयोग गरेर उत्पादन सुरु गरेको च्याउ नै आम्दानीको गतिलो स्रोत बनेको उनको भनाइ छ। च्याउ उत्पादनका लागि चिसो मौसम उपयुक्त मानिन्छ। गर्मीयाम उत्पादन नहुने भए पनि च्याउ खेतीबाट वार्षिक तीन/चार लाखसम्म आम्दानी गर्ने गरेको पासवानको कथन छ।

एक्लैले नभ्याइपछि पासवानले अहिले उत्पादित च्याउ टिप्न र प्याकिङ गर्न चार जना कामदारलाई रोजगारीसमेत दिएका छन्। 'अहिले दैनिक ४०/५० किलो च्याउ उत्पदान हुन्छ, त्यो टिपेर प्याकिङ गर्न एक्लैले भ्याउँदैन्', पासवान भने, 'त्यसैले चार जनालाई कामदारको रुपमा राखेको छु, उहाँहरुले सघाइरहनुभएको छ।' च्याउ टिपेर प्याकिङ गरेपछि व्यापारी फर्ममै च्याउ खरिद गर्न आउने गरेको पासवानको भनाइ छ। 

कुनै बेला खान लाउनसमेत धौधौ हुने पासवानलाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च च्याउ खेतीकै आम्दानीले पुग्ने गरेको छ। उनले सोही व्यवसायबाट आफ्ना चार  छोराछोरीलाई वीरगञ्जस्थित राम्रो विद्यालयमा पढाइरहेका छन्।

च्याउ खेतीका लागि खासै ठुलो समस्या नरहेको बताउने किसान पासवान गर्मीयाम उत्पादन नहुने र पानी जम्ने हुँदा केही समस्या भइरहेको बताउँछन्। च्याउ खान स्वादिष्ट र स्वस्थकर हुने भएकाले बजारमा च्याउको माग बढी छ। च्याउ अहिले पर्साको वीरगञ्ज लगायतका बजारमा प्रतिकिलो एक सय ६० का दरले बिक्री भइरहेको च्याउ व्यापारी तेजीलालकुमार सर्राफ बताउँछन्। 

'बजारमा च्याउको माग बढी छ, तर उत्पादन त्यति छैन', उनले भने, 'जिल्लाको दुई ठाउँमा मात्र च्याउ खेती हुन्छ, त्यसले बजारको मागलाई धान्न सकिरहेको छैन।' हेटाैँडाबाट पनि च्याउ मगाउँछौँ तर पासवानको फर्मबाट उत्पादन भएको च्याउको जस्तो हेटौँडाबाट आउने च्याउमा स्वाद नभएकाले यहीको च्याउ नै धेरैले खोज्ने गरेको सर्राफ बताउँछन्। 

च्याउ खेतीलाई प्रवर्द्धन गर्न आवश्यक परामर्शसहित बिउबिजनसमेत सहयोग गरिरहेको कृषि ज्ञान केन्द्रका पर्साका प्रमुख मुनिलाल कुशवाहले बताए। सुरुमा व्यवसाय सञ्चालनका लागि आफ्नै लगानी परे पनि अहिले यस्ता कृषकलाई आर्थिक तथा प्रविधि सहयोगसमेत गर्दै आएको प्रमुख कुशवाहको भनाइ छ। बजारीकरणको समेत राम्रो सम्भावना भएकाले च्याउ खेतीलाई प्रवर्द्धन गर्ने आफूहरुको नीति रहेको उनले बताए। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८००४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend