शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

७० हजार खर्चिएर बन्दागोभी लगाए, बिक्री नहुँदा बारीमै सुक्यो

आइतबार, जेठ ७ २०८०
७० हजार खर्चिएर बन्दागोभी लगाए, बिक्री नहुँदा बारीमै सुक्यो

प्रतिकिलो पाँच रूपैयाँमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने किसान बाबुराम चौधरी बताउँछन्।

घोराही- दाङको घोराही उपमहानगरपालिका-१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक बिघा जमिनमा लगाएका बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन्। तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन।

चौधरीले घोराही-६ गुरुवागाउँमा लगाएको सबै बन्दागोभी अहिले बारीमै सुक्न थालेको छ। एक बिघा जमिनमा रोपेको ‘नेपाल ग्रिण ७७७’ जातको बन्दागोभी तयार भए पनि बेच्न समस्या भएको छ। बजारमा सस्तोमा पाउन थालेपछि बन्दागोभी बिक्री गर्न समस्या भएको उनको भनाइ छ।

'घरखर्च धान्न सकिएला कि भनेर एक बिघामा बन्दागोभी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ', चौधरीले भने, 'खरिद गर्न कोही पनि आएका छैनन्।' प्रतिकिलो पाँच रूपैयाँका दरले बन्दागोभी किन्न आउँदा बिक्री नगरेको उनको भनाइ छ।

चौधरीले ७० हजार रूपैयाँ खर्च गरेर एक बिघा जमिनमा बन्दागोभी लगाएको बताए। उनले भने, 'बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु।' प्रतिकिलो पाँच रूपैयाँमा बन्दागोभी बेच्दा आफ्नो लगानी नै नउठ्ने उनको भनाइ छ। 

हाल पाउँदै गरेको मूल्यले बन्दागोभीको बिउ उमार्नदेखि खानका लागि तयार पार्दासम्म भएको खर्च उठ्ने अवस्था नभएको चौधरी बताउँछन्। 'व्यापारीसित समन्वय गर्दा बन्दागोभीको बजार छैन भन्ने खबर पाए', उनले भने। यस वर्ष जिल्लामा प्रशस्त उत्पादनसँगै बाहिरबाट धेरै मात्रामा बन्दागोभी आउँदा आफ्नो उत्पादन बिक्री गर्न धौ-धौ भएको उनले बताए।

विगत दश वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले बन्दागोभी खेतीबाट अघिल्ला वर्षमा मनग्य आम्दानी लिएका थिए। 'बन्दागोभी नबिक्ने समस्या यसअघि कहिल्यै आएन', उनले भने।

तरकारी बिक्रीको व्यवस्था मिलाउन जिल्लाका अन्य व्यवसायीलाई अनुरोध गरे पनि सबै ठाउँमा यस्तै समस्या रहेको र बजारमा माग नभएको जवाफ पाएको चौधरी बताउँछन्। 'अब बन्दागोभी बिक्री हुँदैन, बारीमै सुकेर जान्छ', उनले भने।

जिल्लामा सस्तोमा बाहिरबाट तरकारी भित्रिँदा स्थानीय किसान समस्यामा परेका छन्। रासस


प्रकाशित : आइतबार, जेठ ७ २०८०११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend