शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

असिनापानीले अन्नबालीमा क्षति, भोकै परिने चिन्तामा किसान

आइतबार, जेठ ७ २०८०
असिनापानीले अन्नबालीमा क्षति, भोकै परिने चिन्तामा किसान
फाइल तस्बिर

खप्तड छेडेदह -६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड बढी रूपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

बाजुरा- जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा असिनापानीले अन्नबाली, तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ।

हिउँदे बाली भित्र्याउन नपाउँदै गत बुधबार दिउँसो आएको असिनापानीले खेतबारीमै गहुँ, जौ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन्। अहिले उनीहरु भोकै परिने हो कि भन्ने चिन्तामा छन्।

कम उत्पादन हुने र हिउँदभरि दुःख गरेर लगाएको खेती असिनापानीले सखाप पारेपछि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता बढेको खप्तड छेडेदह गाउँपालिका-७ बुढाबाडाकी भीम्ला बुढाले दुःखेसो पोखे। उनले भने, 'असिनापानीले गहुँ, जौ तरकारीमा आलु प्याज, लसुन, फलेको फलफूलमा क्षति पुग्यो।'

खप्तड छेडेदह -६ र ७ वडाका करिब सात हजार रोपनी जग्गाको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुगेको असिनापीडित किसानले जनाएका छन्। असिनाबाट पीडित बनेका किसानले बिहान खेतबारी गएर टुलुटुलु पाकेको गहुँ र जौ हेर्नुबाहेकको विकल्प नरहेको ओलीका कृषक बिर्ख ओलीले बताए। उनले असिनाबाट पीडित किसानलाई राहतभन्दा पनि क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

असिनापानीले वडा नं ६ को मैतोला, नाइना र सुदाडामा अन्न बाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ भने वडा नं ७ को बुढाबाडा, लम्गाउँ, गुम्लागाउँ, कठायतबाडा, ओलीगाउँ र दानीगाउँमा नोक्सानी गरेको वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए।

क्षतिको विवरण संकलनमा छैन सुरसार

असिनापानीले खप्तड छेडेदह-६ र ७ वडाका किसानले खेतबारीमा लगाएको अन्न, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको भए पनि स्थानीय सरकार पालिका र कृषि ज्ञान केन्द्र बाजुराले विवरण संकलनमा कुनै सुरसार नगरेको पीडित किसानले गुनासो गरेका छन्।

असिनापानीले वडा नं ६ का तीन सय ८० र ७ का पाँच सय २५ परिवार गरी नौ सय पाँच परिवार प्रभावित भए पनि गाउँपालिकाले क्षतिको विवरण संकलनमा चासो नदेखाएको पीडित कृषक गौरी ओलीले बताए।

क्षतिको विवरण संकलनका गर्न पालिका र कृषि ज्ञान केन्द्र बाजुराले चासो नदेखाएपछि क्षतिपूर्ति नपाउने चिन्ता कृषकमा परेको छ। असिनापानीबाट प्रभावित बनेका किसानको क्षतिको विवरण संकलनका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुरालाई आग्रह गरेको भए पनि कुनै चासो नदेखाएर बेवास्ता गरेको  वडा नं ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन्।

खप्तड छेडेदह -६ र ७ वडाका नौ सय पाँच परिवारले लगाएको अन्नबाली, तरकारी र फलफूल खेतीमा करिब दुई करोड बढी रूपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

गाउँपालिका-७ का वडाध्यक्ष रावतका अनुसार वडा ६ र ७ का उक्त परिवारले करिक सात हजार पाँच रोपनीमा लगाएको अन्न, तरकारी र फलफूल खेती नोक्सानी पुर्‍याएकाले वडा कार्‍यालयले प्रारम्भिक अनुमान गरेको बताए। वडा कार्यालयको अनुगमन गर्दा प्रारम्भिकरूपमा दुई करोड बढी रूपैयाँको क्षति भएको अनुमान गरिएको उनले बताए। रासस


प्रकाशित : आइतबार, जेठ ७ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend