बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

बिहीबार , जेठ ४ २०८०
रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने उनले बताए।

गलकोट- ५७ वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन्। सानै उमेरदेखि बाबुबाजेसँगै भेडापालनमा होमिएका उनले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आएका छन्।

पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहाल्नेको भेडीगोठमा एक महिनादेखि छन्। अहिले उक्त भेडी गोठमा गुरुङसहित चार भेडी गोठालाका एक हजार एक सय भेडा छन्।

'सानै उमेरदेखि बाबुबाजेसँगै भेडा चराउन जंगलमा आइयो, यही पेसालाई निरन्तरता दिनुपर्दछ भन्ने सोच पलाएकाले चार वर्ष विदशी सहर बजारको रमाइलो भन्दा भेडीगोठमै आनन्द आउँदो रहेछ', भेडी गोठाला गुरुङले भने, 'आफ्नै परम्परागत भेडापालनमै सन्तुष्ट बन्न सकेँ, अहिले भेडा चराउँदै बागलुङको सिमानामा आएका छौँ, असारसम्म बागलुङको ढोरपाटनस्थित बुकी पुग्नेछौँ। बागलुङ, रोल्पा, रुकुम, प्यूठान लगायतबाट हजारौँ भेडाको जमघट बुकीमा हुनेछ।'

अहिले भेडा खरिदका लागि रोल्पा, रुकुम र बागलुङबाट भेडीगोठमै खरिदकर्ता आइपुगेका र थुम्बोलाई ३० हजार रूपैयाँमा गोठबाटै बिक्री हुँदै आएको छ।

'भेडा पालनमा निकै दुःख छ तर जति दुःख भए पनि पुर्खाले गरेको पेसामा रमाउने बानी पर्‍यो, भेडा बिक्री हुँदा आनन्द आउँछ,' गुरुङले भने, 'लुकुमबाट सुरु भएको भेडा चराउने यात्रा बागलुङको बुकीमा पुगेपछि पुन: फर्किने क्रम सुरु हुन्छ, लुकुममा मात्रै सयजनाभन्दा बढीको भेडाका बथान छन्, हामीलाई सहर बजारभन्दा जंगलकै भेडीगोठ प्यारो लाग्छ।'

भेडा चराउन जंगल आउँदा फुर्सद नभएर भेडा फार्म दर्ता गर्न कठिन भएकाले सरकारले गोठमै आएर भेडा फार्म दर्ताको अभियान चलाउनुपर्ने उनको माग थियो। भेडामा रोग लाग्दासमेत जंगलकै जडीबुटी खुवाएर उपचार गराउने गरिएको  तर फार्म दर्ता गर्ने, अनुदान ल्याउने तथा उपचारका लागि प्राविधिक बोलाउन फुर्सदै नभएको गुरुङको भनाइ थियो।

आम्दानीका हिसाबले भेडापालन राम्रो भए पनि लामो झरी र हिउँ पर्दा भेडा मर्ने भएकाले नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ।

राम्रो घाँस पाइने भएकाले बर्खामा सबै भेडा बुकीमा लैजाने गरिएको अर्का भेडापालक ३४ वषीय जोरप्रसाद घर्तीले बताए। चार सय भेडा पाल्दै आएका उनी पनि बुबालाई पछ्याउँदै भेडापालनमा रमाउँदै आएका छन्।

'पानी पर्दा र हिउँ पर्दा निकै समस्या हुन्छ, बेमौसमी वर्षाका कारण चिसोले ६० भेडा गत वैशाख दोस्रो साता मरेका थिए, भेडा चराउँदै लैजाँदा दाङसम्म पुगिन्थ्यो, त्यहाँ छेरुवा रोग लागेपछि अहिले चार/पाँच वर्षभयो बुकीतर्फ लान थालेका छौँ', भेडापालक जोरप्रसादले भने, 'बाबुबाजेले गरेको पेसाप्रति गर्व लाग्छ, भेडापालनमा धेरै दुःख कष्ट छ  तर सन्तुष्टी भने विदेशमा भन्दा भेडीगोठमै हुन्छ भेडापालनको आम्दानीले परिवार पाल्न पुगेकै छ। अर्काको देशमा गएर ज्याला मजदुरी गर्नुभन्दा आफ्नै देशमा भेडा गोठालो हुनु मलाई राम्रो लाग्छ।'

भेडापालक किसनालाई सरकारले कुनै सहयोग गुनासो गर्दै उनले लगातार पानी परे भोकै भेडा मर्ने र जंगली जनावारको आक्रमणले पनि चुनौती भइरहेको बताए।

'बुकीतर्फ जाँदैछौँ अहिले, भेडा चराउँदै असारसम्म बुकी पुगिन्छ, बुकीको घाँसमा चरेका भेडा स्वस्थकर हुन्छन् र मूल्य पनि बढी पर्दछ जब बुकीमा हिउँ पर्न थाल्छ तब हामी पुनः भेडा लिएर बुकीबाट झर्ने गर्दछौँ, भरियालाई बोकाएर गोठालो खर्च लगिन्छ', जोरप्रसादले भने, 'भेडा गोठालाको छुट्टै संसार छ, लेकमा मोबाइलसमेत चल्दैन, अत्यावश्यक परे खबर पठाउने हो, नभए दुई महिना भूमिगत जस्तै भइन्छ, हामी गोठमै रमाउनेलाई सहर बजारको त्यति चासो छैन।'

भेडापालन छोडेर वैदेशिक रोजगारीमा गए पनि राम्रो कमाइ नभएकाले पुनः भेडापालनमै फर्किएको र अब विदेश नजाने उनले बताए। अस्थायी भेडीगोठ निर्माण गर्दै भेडा चराउँदै हिँड्दा निकै दुःखकष्ट भए पनि यही परम्परागत पेसामै सन्तुष्ट हुँदै आएको अर्का भेडी गोठाला सत गुरुङले बताए।

'पातीहाल्नेमा अहिले एक हजार एक सय भेडा एउटै गोठमा छन्। चरनका लागि बाहिर ल्याउँदा आ-आफ्नो छुट्टाइन्छ, अब हिमलतर्फ लाग्ने दिन आयो', गुरुङले भने, 'यस पटक बेमौसमी वर्षाका कारण यही गोठमा ६० भेडा मरे, अहिले घाटा भयो।'

भेठीगोठको कष्टकर दिनचर्याबाट बचत भएको आम्दानीले परिवार पाल्दै छोराछोरीलाई अध्ययनका लागि पुग्ने गरेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ ४ २०८०१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend