बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बुढानीलकण्ठमै खुल्ने भयो विद्युतीय सवारी एसेम्बल उद्योग, विद्युतीय कार र तीनपांग्रे बनाउने

बुधबार, जेठ ३ २०८०
बुढानीलकण्ठमै खुल्ने भयो विद्युतीय सवारी एसेम्बल उद्योग, विद्युतीय कार र तीनपांग्रे बनाउने

उद्योगमा १४ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ।

काठमाडौं- काठमाडौंको बुढानीलकण्ठमा विद्युतीय सवारी उत्पादन हुने गरि एसेम्बल उद्योग खुल्ने भएको छ। बुढानीलकण्ठ नागरपालिका वडा नम्बर ८ मा एसेम्बल प्लान्ट खोल्नेगरी उद्योग दर्ता भएको हो। 

मोर्डन इलेक्ट्रिक भेइकल प्रालि नामक उद्योग हालै दर्ता भएको हो। उक्त उद्योगमा १४ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरिएको छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ। 

२९ जनालाई प्रत्यक्ष रोजगारी दिनेगरी दर्ता भएको उद्योगले वार्षिक रुपमा उत्पादन हुने विद्युतीय कारको संख्या स्पस्ट पारेको छैन। यो उद्योगले विद्युतीय तीनपांग्रे र विद्युतीय चारपांग्रे सवारी उत्पादन गर्ने उल्लेख गरेको छ। 

नेपालमा दुईपांग्रे, चारपांग्रे, विद्युतीय सवारी, ठूला सवारीसम्म एसेक्बल गर्ने भन्दै करिब तीन दर्जन उद्योग दर्ता भइसकेका छन्। तर हालसम्म दुई वटा दुई पांग्रे सवारीमात्र एसेम्बल भइरहेका छन्। बजाज र टीभीएसका मोटरसाइकल हाल नेपालमै एसेम्बल भइरहेका छन्।

त्यस्तैगरि यामाहा, रोयल इनफिल्ड, हिरो, होन्डा, सुजुकीलगायत ब्रान्डले पनि नेपालमै एसेम्बल गर्न उद्योग दर्ता गरेर उत्पादनका अन्तिम तयारी गरिरहेका छन्। रोडल इनफिल्ड र यामाहाले अबको एक डेढ महिना भित्रै नेपालमै मोटरसाइकल एसेम्बल गर्दैछन्। 

त्यस्तै विद्युतीय सवारी एसेम्बल गर्न पनि करिब डेढ दर्जन उद्योग दर्ता भएका छन्। यसमध्ये व्यवसायी शिवप्रसाद घिमिरेले विद्युतीय स्कुटर एसेम्बल गर्न सीकेडी ल्याएर परीक्षण उत्पादन सुरु गरिसकेको छ। एसजी अटोक्राफ्टले नेपालमै विद्युतीय स्कुटर एसेम्बल सुरु गरेको हो। कम्पनीले परीक्षणका रुपमा ललितपुरको इमाडोलमा सानो स्केलमा एसेम्बल सुरु गरेको जनाएको छ।  

एसजी अटोक्राफ्ट प्रालिले विद्युतीय ब्रान्ड ‘ओकला ई-स्कुटर एन्ड बाइक’सँगको साझेदारीमा सीकेडी नेपाल ल्याएको हो। तर एसजी अटोक्राफ्टले आफ्नै ब्रान्ड नेममा विद्युतीय स्कुटर नेपाली बजारमा बिक्री गर्ने जनाएको छ।

एसजी अटोक्राफ्टले ‘वाहन’ ब्रान्डमा विद्युतीय स्कुटर उत्पादन गरेर बिक्री गर्ने जनाएको छ। त्यसका लागि सुरुवाती चरणमा एसजीले ललितपुरको इमाडोलमा एसेम्बल सुरु गरेको र परीक्षण सफल भएलगत्तै बाराको सिमरामा रहेको प्लान्टबाट नियमित एसेम्बल सुरु हुने कम्पनीको भनाइ छ। 

त्यस्तैगरी नेपालमै डिजाइन गरेर नेपाली ब्रान्डनेममा यात्री मोटरसाइकलसमेत उत्पादन भइरहेको छ। यात्रीले विद्युतीय मोटर, ब्याट्री प्याकलगायत सबै कच्चा पदार्थ आयात गरेर मोटरसाइकल उत्पादन गर्दै आएको छ। 

कच्चा पदार्थ आयात गरेर सवारी एसेम्बल गरि निर्यात गर्न नसकिने र सरकारी नीति अस्थिर भएकाले चारपांग्रे सवारी उद्योग दर्ता भएपनि एसेम्बलको प्रक्रियामा जान सकेका छैनन्। तर दुई पांग्रे सवारीको भने स्वदेशमै बजार विस्तार हुँदै गएकाले पेट्रालबाट चल्ने तथा विद्युतीय स्कुटर तथा मोटरसाइकल एसेम्बल गर्न धेरै उद्योगले तयारी गरिरहेका छन्।   


प्रकाशित : बुधबार, जेठ ३ २०८००४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend