शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

तरकारी खेतीबाटै करोडौँको मालिक

सोमबार, जेठ १ २०८०
तरकारी खेतीबाटै करोडौँको मालिक

दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ। तरकारीबाट वर्षमा १० लाख रूपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन्।

अर्घाखाँची- सन्धिखर्क नगरपालिका-८ का कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन्।

लटरम्मै टमाटर फलेको छ। हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख रूपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन्। एकै बोटमा झन्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ। 

दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ। प्रतिकेजी ४० देखि ५० रूपैयाँसम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजार रूपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन्। 

बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन्। अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख रूपैयाँ आम्दानी हुँदै आएको छ। उनले गरेको देखासिकीबाट सिंगो गाउँ नै तरकारी खेतीमा लागेको छ।

'अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर ईर्ष्या गर्थे  तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन्', बञ्जाडेले भने।

५० वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक बनेका छन्। सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन। महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो। जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रूपैयाँ कमाएका हुन्।

'गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ', उनले भने। अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन्। सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुवात गरेका उनलाई पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ। किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ।

तरकारीबाट वर्षमा १० लाख रूपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन्। यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ। बारीमा आकाशे पनि संकलन गर्न ५० हजार लिटरको आकाशे पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको ट्यांकी बञ्जाडेले बनाएका छन्। त्यहीँबाट सिँचाइ हुन्छ। गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन्।

बर्सातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो। 'अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,' पुष्करनाथले भने, 'पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्‍याए।' रासस


प्रकाशित : सोमबार, जेठ १ २०८००९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend