शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

४५ हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १ २०८०
४५ हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलार’को आक्रमण

लाखौँको संख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको

कर्णाली- तातोपानी गाउँपालिका-१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ।

तातोपानी-१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन्। लाखौँको संख्यामा रहेका टेन्ट क्याटरपिलारले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए।

'तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्', शाखा प्रमुख नेपालीले भने, 'तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।' जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उनले बताए।

उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको संख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए। यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उहाँले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताउनुभयो ।  

तरापीमा लगाइएको ठूलो संख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए। 'टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौँ', उनले भने, 'त्यसले समस्या हल गर्न नसक्ने अवस्था नभए विकल्प पनि खोज्नुपर्ने हुन्छ।'

तातोपानी-१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पुर्‍याएको बताए। परागसेचनको समय भएकाले रासायनिक विषादीलगायत अन्य विषादी हाल्न नमिल्ने भएकाले अहिले सबै किसानलाई टेन्ट क्याटरपिलारलाई हातैले मार्न सुरु गरिएको उनले बताए। रासस


प्रकाशित : सोमबार, जेठ १ २०८००६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend