नेपालगञ्ज- बाँकेका होटल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन्।
केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष तथा संघका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिए।
उनले उक्त प्याकेज जेठ महिनाका लागि मात्रै भएको जानकारी दिँदै अहिले चार होटलले मात्रै गरेको तर केही दिनपछि सबैले प्याकेजको घोषणा गर्ने बताए। 'एक महिनाभरि यसको कस्तो परिणाम आउँछ, त्ससको समीक्षा गर्छौं र पुनःयसलाई निरन्तरता दिन्छौँ', उनले भने। खास गरी महाआरतीमा सहभागी हुन आउने भारतीय पर्यटकको बसाइँ लम्ब्याउन सो प्याकेज घोषणा गरेको बताइएको छ।
नेपालगञ्जको गणेशमान चोकमा रहेको होटल इन्द्रेणीले होटलमा आउने अतिथिका लागि दुई छाक खाना निःशुल्क गरेको छ। बागेश्वरी हल रोडमा रहेको अप्सरा होटलले बास बस्नका लागि होटलका कोठामा ५० प्रतिशत छुट गरेको छ। स्वर्गद्वारी होटलले एक छाक खाना निःशुल्क र दंगाली होटलले दुई जनालाई होटलमा कोठा निःशुल्क हुने जनाएको छ।
होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खडकाले अहिले पर्यटकका लागि सुरुवात मात्र भएको उल्लेख गर्दै सबै होटल व्यवसायीलाई प्याकेज घोषणा गर्न आह्वान गरेको बताए। उनले संघको निर्णयानुसार उक्त प्याकेज घोषणा भएको जानकारी दिए। बाँकेमा साना तथा ठूला गरेर करिब तीन हजार बढी होटल सञ्चालनमा छन्।
बागेश्वरी मन्दिरमा सुरु भएको महाआरतीपछि धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ। मन्दिर आउने भक्तजनलाई लक्षित गरेर सो प्याकेज ल्याइएको जनाइएको छ। रासस