बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

आइतबार, वैशाख ३१ २०८०
अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन्।

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन्।

दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन्। मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ। तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन्। आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन्। त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन्। डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए। 

'दैनिक चार हजारदेखि पाँच हजार रूपैयाँसम्मको अगरबत्ती बिक्री हुन्छ', महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दै गरेको अवस्थामा भेटिएका उनले भने, 'आर्थिक अभावका कारण इनावरी (श्रीमती)लाई पढाउन सकिनँ।' इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउँछन्। 

यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गरेका थिए। त्यहाँ उनले माछा काटकुटको काम गर्थे। त्यसैबापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाएका थिए।

सुरुवातमा इनावरीले अगरबत्ती बिक्री गर्न थालेकी हुन्। पछि उनीसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाले। 'उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ', इन्द्रले भने, 'दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु।'

धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उनले अनुभव सुनाए। दृष्टिविहीन भए पनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ। 'केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै पर्‍यो', रानाले भने, 'अगरबत्ती बेच्न जाँदा डोर्‍याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ।'

महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आएका थिए। अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडौं, धनकुटालगायत सहर पुगिसकेका छन्। हाल इनावरी अगरबत्ती बेच्न काठमाडौं गएको उनले बताए। 'म महेन्द्रनगर आएँ, इनावरी काठमाडौंतर्फ लागिन्, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौं जाँदैछु।'

राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ। घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन्। आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन्। दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गरे। स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन्। 

दिनभरि अगरबत्ती बिक्री गर्दा पाँच सय रूपैयाँसम्म कमाउने गरेको इन्द्र बताउँछन्। 'अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ', उनले भने, 'यसबाट जेनतेन गुजारा चलेको छ।'

एक प्याकेट अगरबत्तीको मूल्य ५० देखि एकसय ५० रूपैयाँसम्म रहेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ३१ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend