काठमाडौं- सञ्चालनमा रहेका कतिपय चिनी मिलले किसानलाई समयमै उखुको पैसा नदिएको विषय बारम्बार आइरहेको छ। किसानले अहिले पनि उधारोमा उखु बिक्री गरिरहेका छन्।
व्यवसायीमात्रै नभइ सरकारले पनि उखु किसानलाई दिँदै आएको अनुदान रकम समयमा नै भुक्तानी गर्न सकेको छैन। यस्तो अवस्थामा पुन: निजी क्षेत्रको लगानीमा दुईवटा चिनी उत्पादन उद्योग स्थापना हुने भएका छन्।
उद्योग स्थापनका लागि उद्योग विभागमा दुईवटा कम्पनी दर्ता भइसकेका छन्। उद्योग विभागका अनुसार ४ अर्ब २८ करोड रुपैयाँ लगानी प्रतिवद्धतासहित दुईवटा चिनी उद्योग स्थापना गर्नेगरी दर्ता भएका छन्।
विभागका अनुसार व्यवसायी सन्दीप गाडियाले पर्सामा उद्योग स्थापन गर्नेगरी उद्योग दर्ता गराएका छन्। यसैगरी २ अर्ब २० करोड रुपैयाँको लगानीमा नै चिनी उत्पादन गर्ने गरी विजय श्री सुगर मिल्स प्रालि विभागमा दर्ता भएको छ। दुईवटा चिनी उत्पादन उद्योगले वार्षिक ७१ हजार ३ सय ७० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएका छन्।
गाडियाले शिवशक्ति सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता गराएका हुन्। उद्योगमा २ अर्ब ८ करोड रुपैयाँ लगानी हुने दर्ता विवरणमा उल्लेख छ। उद्योगले वार्षिक ३७ हजार ८ सय मेट्रिक टन चिनी, मोलासेस १८ हजार ९ सय मेट्रिक टन, ५४ हजार मेट्रिक टन बेगास्से र २ करोड ५२ लाख किलोवाट बिजुली उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ। उद्योगमा सत प्रतिशत नै नेपाली लगानी रहने र २ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।
यसैगरी माघमा पनि वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्यसहित विजय श्री सुगर मिल्स प्रालि विभागमा दर्ता भएको थियो। उद्योगले वार्षिक ३३ हजार ७ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी उद्योगले १८ हजार ७ सय ५० मेट्रिक टन मोलासेस (गुड) उत्पादन गर्ने समेत दर्ता विवरणमा उल्लेख छ।
उद्योगमा ३ सय ५० जनाले रोजगारी पाउने विवरणमा उल्लेख छ। उद्योगमा २ अर्ब २० करोडको लगानी रहने गरी दर्ता भएको थियो। सम्रगमा चालु आवमा चिनी उद्योगा ४ अर्ब २८ करोडको लगानी प्रतिवद्धता आएको छ। उखु उत्पादन गर्ने किसानलाई सयममै चिनी उद्योगले रकम भुक्तानी नगरिरहेका बेला नयाँ चिनी उत्पादन उद्योग खुल्ने भएको छ।