बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति, मलेसियाका लागि सबैभन्दा बढी

शनिबार, वैशाख ३० २०८०
९ महिनामा ६ लाखले लिए श्रम स्वीकृति, मलेसियाका लागि सबैभन्दा बढी

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ।

काठमाडौं- चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन्।

गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ। यो नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिनेको संख्या हो।प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन्।

गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार चार सय तीन, असोजमा ६२ हजार सात सय छ, कात्तिकमा ७८ हजार तीन सय ७०, मंसिरमा ६८ हजार पाँच सय ६४, पुसमा ६५ हजार चार सय ६४, माघमा ६४ हजार दुई सय ८४, फागुनमा ६१ हजार आठ सय ४५ र चैत महिनामा ६१ हजार चार सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ।

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ। गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ।

चैतसम्म तीन लाख ८७ हजार आठ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार नौ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन्। 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ। चालु आवको नौ महिनामा नौ खर्ब तीन अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो। रासस


प्रकाशित : शनिबार, वैशाख ३० २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend