बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला गर्ने तयारी

शुक्रबार, वैशाख २९ २०८०
नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला गर्ने तयारी

नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने।

काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ।

बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच बिहीबार भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिए।
 
प्रत्येक वर्ष झण्डै पाँच लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडालगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ।
 
बोर्डका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिए। नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने उनले बताए।
 
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागतरूपमा खाडी मुलुकमा जाने ८० प्रतिशत श्रम शक्तिलाई नयाँ गन्तव्य मुलुकमा ‘सिफ्ट’ गर्न आवश्यक रहेको बताए। उनले पूर्वी युरोपलगायत मुलुकमा ठूलो सङ्ख्यामा जान सुरु गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा राखे। रासस


प्रकाशित : शुक्रबार, वैशाख २९ २०८००४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend