बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ अर्ब ६५ करोडको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल बन्ने

बुधबार, वैशाख २७ २०८०
२ अर्ब ६५ करोडको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल बन्ने
किओच-काठमाडौं बाल अस्पतालको प्लान डिजाइन।

आयोजनाका लागि कुल वातावरणीय लागत खर्च भने ७१ लाख १५ हजार रूपैयाँ रहने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- काठमाडौंमा सुविधासम्पन्न बाल अस्पताल निर्माण हुने भएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा किओच-काठमाडौं बाल अस्पताल बन्ने भएको हो।

अस्पताल निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयमार्फत आएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। सार्वजनिक रिपोर्टमा अस्पताल निर्माणको लागत २ अर्ब ६५ करोड ८१ लाख ८ हजार ६ सय ६६ रूपैयाँ रहेको उल्लेख छ।

अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट प्रस्तावक भने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ रहेको छ। अस्पतालको क्षमता २ सय शय्या हुनेछ। अस्पताल कुल निर्माण क्षेत्र २३ हजार ९ सय ७१ वर्गमिटर हुने रिपोर्टमा उल्लेख छ। अस्तपालत निर्माणमा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ६ लाख १५ हजार रूपैयाँ, आयोजन सञ्चालन चरणको क्रममा सकारात्मक प्रभाव अभिवृद्धि गर्न ७ लाख रूपैयाँ तथा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ गरी ६५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

आयोजनाका लागि कुल वातावरणीय लागत खर्च भने ७१ लाख १५ हजार रूपैयाँ रहने रिपोर्टमा उल्लेख छ। अस्पताल निर्माण गर्ने कम्पनी मुनाफा वितरण नगर्ने गरी दर्ता भएको छ।

गैर सरकारी सामाजिक संस्थाका हैसियतमा समाज कल्याण परिषद्‌मा आबद्ध भएको कम्पनी हो। गैरनाफामूलक संस्था भएकाले यसको सञ्चालन सेवामुखी शैलीबाट गरिने समेत रिपोर्टमा उल्लेख छ।

अस्पताल प्रादेशिक अस्पतालको अवधारणमा रहेन छ। केन्द्रीय अस्पताल रहेको प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरुसँग समेत सहकार्य गर्ने गरी सुरुमा ५० शय्या क्षमताका बाल अस्पतालहरु विस्तार गर्ने रिपोर्टमा उल्लेख छ।

अस्पताल चक्रपथ नारायणगोपाल चोकबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ। अस्पतालको भवन आरसीसी फ्रेमको हुनेछ।  पाँच तले (भुइँतल्लासहित) भवनको अस्पतालमा १ सय २० वटा कार पार्किङ क्षमता रहनेछ। अपाङ्गता मैत्री संरचनासहित ४ वटा लिफ्ट अस्पताल भवनमा रहनेछ। 


प्रकाशित : बुधबार, वैशाख २७ २०८००९:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend